काठमाडौं। नेपाली वृत्तचित्र ‘जिरो टू आठ हजार ८४८’ शून्यदेखि सगरमाथाले फ्रान्सको प्रतिष्ठित वल्र्ड फिल्म फेस्टिभल इन कान्समा ‘बेस्ट एसियन फिल्म अवार्ड’ प्राप्त गरेको छ।
फेस्टिभलको निर्णायक समितिले फिल्मको सशक्त कथावस्तु, उच्चस्तरीय सिनेम्याटिक प्रस्तुति, संघर्ष, साहस र आकांक्षालाई गहिराइमा प्रस्तुत गरेको पक्षलाई मूल्यांकन गर्दै विश्वभरबाट सहभागी भएका चलचित्रमध्ये सो वृत्तचित्रलाई छनोट गरिएको हो।
‘जिरो टु आठ हजार ८४८’ को मौलिकता, गहिरो अनुसन्धान, विश्वव्यापी सन्देश र प्रकृति तथा संस्कृतिको उच्चतम प्रस्तुतिलाई आधार मानिएको छ। वृत्तचित्रमा नेपालको सबैभन्दा होचो भू–भाग झापा जिल्लाको कचनकवलदेखि विश्वको सर्वोच्च शिखर सगरमाथा, (८८४८ मिटर) सम्मको यात्रालाई जीवन्त र गहिरो वास्तविकताका साथ प्रस्तुत गरिएको छ । सो वृत्तचित्र संघर्ष, धैर्यता, उद्देश्य साहसको कथासमेत हो।
जलवायु परिवर्तन, भौगोलिक विविधता तथा जीवनलाई एउटा आरोहणका रूपमा बुझाउने दार्शनिक सन्देश पनि सो वृत्तचित्रमा समेटिएको छ।
फिल्मका टिम लिडर प्रेम बानियाँले भने, ‘बेस्ट एसियन फिल्म’ अवार्ड प्राप्त गर्नु हाम्रा लागि अत्यन्तै गर्वको विषय हो। यसले केवल यो डकुमेन्ट्री फिल्मलाई मात्रै होइन, नेपाल र एसियाका विषय वस्तु, पात्र र सोचलाई पनि अन्तर्राष्ट्रिय सम्मान दिएको छ। यो सम्मानले हामीलाई अझ अर्थपूर्ण र प्रेरणादायी कथा सिर्जना गर्न उत्साहित बनाएको छ।’