झापा। प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र क्वारेन्टाइन कार्यालय काँकडभिट्टाबाट चालू आर्थिक वर्ष २०८२/८३ को साउनमा १ अर्ब २३ करोड ५३ लाख ८६ हजार बराबरको कृषिजन्य वस्तु निर्यात भएको छ।
कार्यालयका सूचना अधिकारी सन्तोष थापाका अनुसार निर्यात हुने मुख्य वस्तुमा अलैंची, चिया, प्लाइइ तथा भेनियर, अदुवा, अम्लिसोलगायत रहेका छन्।
एक महिने अवधिमा सबैभन्दा धेरै चिया ३७ करोड ९८ लाख ६८ हजार, अलैंची ३२ करोड ४३ लाख २१ हजार, प्लाइ तथा भेनियर २६ करोड ८७ लाख, अम्लिसो ८ करोड ८७ लाख मूल्य बराबरको निर्यात भएको छ।
यसैगरी कार्यालयको तथ्यांकअनुसार अदुवा ६ करोड १० लाख, बन्दा चार करोड सात लाख, मसुरो दाल दुई करोड १३ लाख मूल्य बराबरको निर्यात भएको छ।
सूचना अधिकारी थापाका अनुसार सोही अवधिमा पूर्वी नाकाबाट १ अर्ब ६९ करोड १७ लाख ५२ हजार मूल्य बराबरको कृषिजन्य मालवस्तु आयात भएको छ।
आयात हुने मुख्य कृषिजन्य वस्तुमा कोदो, गेडागुडी दलहन, चामल, ताजा तरकारी, ताजा फलफूल, लसुन, आलु, मकै पशु दानालगायत रहेका छन्।-रासस