काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल(इप्पान)का अनुसार १३०० मेगावाटभन्दा बढी क्षमताका आयोजना निर्माण अगाडि बढेको छ।
एकवर्षे अवधिमा वित्तीय व्यवस्थापन भएका १२ वटा विद्युत् आयोजनामा करिब ३ खर्ब लगानी हुनेछ भने निर्माण सम्पन्नपछि मुलुकको अर्थतन्त्रमा सकारात्मक परिवर्तन आउनेछ।
इपपानका अनुसार ३४१ मेगावाट क्षमताको बूढीगण्डकी अर्धजलाशययुक्त आयोजना २०८७ भित्र निर्माण सम्पन्न हुनेछ भने यसको लागत ७० अर्ब रहेको छ । यस्तै, २०८८ भित्र निर्माण सम्पन्न हुने गरी २१६ मेगावाटको माथिल्लो सेतीमा ४१ अर्ब ६० करोड लगानीमा निर्माण गरिनेछ।
२८५ मेगावाटको माथिल्लो तमोर अर्धजलाशययुक्त आयोजना ५५ अर्ब ९५ करोड लागतमा बन्नेछ भने २०८५ भित्र निर्माण सम्पन्न हुनेछ। इस्तै, १०६ मेगावाटको २३ अर्ब लगानी रहेको जगदुल्ला विद्युत आयोजना २०८६ भित्र निर्माण सम्पन्न गरिनेछ।
यसैगरी माथिल्लो मर्स्याङ्दी १०२ मेगावाटको रहेको छ भने २१ अर्ब ४० करोड लगानी र २०८६ निर्माण सम्पन्न हुनेछ।
इप्पानका अनुसार मध्य चमेलिया २८.०३ मेगावाटको रहेको छ भने ५ अर्ब ६६ करोड लगानी २०८६ भित्र सम्पन्न हुनेछ। यस्तै, अपर मेवा खोला ३१.९ मेवागाटको रहेको छ भने ६ अर्ब ३७ करोड लगानी र २०८४ निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता छ।
निर्माण चरणमा रहेको धुन्सा खोला ७७.५ मेगावाटको हो भने १८ अर्ब १३ करोड लगानी र २०८७ भित्र सम्पन्न गरिसक्नुपर्नेछ। त्यसैगरी ४९.९५ मेगावाट क्षमताको दाना खोला विद्युत् आयोजनाको लागत ९ अर्ब ९६ करोड रहेको छ भने २०८४ निर्माण सम्पन्न हुनेछ।
सेतीखोला जलविद्यु्त क्यासकेड ९.८ मेगावाटको छ भने १ अर्ब ९७ करोड लगानी र २०८६ भित्र निर्माण सम्पन्न हुनेछ। संखुवा खोला ४१.०६ मेगावाटको रहेको छ भने ८ अर्ब २० करोड लगानी २०८५ भित्र सम्पन्न हुनेछ। यस्तै, वज्र मादी २४.८ मेगावाट रहेको छ भने आयोजनामा ५ अर्ब ३५ करोड लगानी र २०८५ भित्र सम्पन्न हुनेछ।
आयोजना बनिँदा रोजगारी अवसरका साथै निर्माण स्थल वरपर आर्थिक गतिविधि चलायमान हुने इप्पानको विश्वास छ।
आयोजना निर्माण हुँदा सिमेन्ट उद्योग, डन्डी उद्योग, ढुंगा, गिटी र बालुवाको माग उत्तिकै बढ्नेछ। २ देखि ५ वर्षभित्र निर्माण सम्पन्न हुने कतिपय आयोजनाले निर्माण सुरु गरिसकेका छन्।
आयोजनाबाट बैंक तथा वित्तीय संस्थाले ब्याज मात्रै करिब २० अर्ब रुपैयाँ पाउनेछन्। आयोजनाका लागि चाहिने सामान आयातमा मात्रै ५० अर्ब रुपैयाँ बढी खर्च हुने इप्पानको अनुमान छ। आयोजना नदी प्रवाही, जलाशय, अर्ध जलाशय हुनेछन्।