काठमाडौं। सर्वसाधारणको चर्को विरोधका बावजुद पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था विभागले सवारीसाधनमा इम्बोस्ड नम्बर जडान गरिरहेको छ। असोज १ गतेदेखि अनिवार्य भनिएकोमा हाल तत्कालै जडान नगरे पनि जरिवाना नगर्ने तर जडान भने गर्नैपर्ने उल्लेख गरेको छ।
आखिर किन इम्बोस्ड नम्बर जडानमा सरकारले जबर्जस्ती गरिरहेको छ? के जडान गर्नै पर्छ? यसले सर्वसाधारणलाई के फाइदा पुग्छ? यी सबै प्रश्न अहिले सरकारलाई गरिरहेका छन्। सरकारले भने सर्वसाधारणकै हितका लागि इम्बोस्ड नम्बरको अवधारणा ल्याएको दाबी गरिरहेको छ।
यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले बढ्दो सवारीसाधन चोरी र तस्करी नियन्त्रणका लागि इम्बोस्ड नम्बर जडान गराउन लागिएको दाबी गर्छन्। त्यसो भए अहिले प्रयोगमा रहेको नम्बर प्लेटले चोरी रोक्न नसकेको हो? वा चोरिएका सवारीसाधन भेट्न गाह्रो भएको हो?
यस प्रश्नका जवाफमा महानिर्देशक पोखरेलले अहिलेका सवारी साधनमा हातले लेखिएको परम्परागत नम्बर प्लेट प्रयोग हुँदै आएकाले सजिलै हटाउन वा फेर्न सकिने हुँदा सवारीसाधन चोरी भएर विभिन्न आपराधिक क्रियाकलापमा प्रयोग हुने सम्भावना बढेसँगै यसको नियन्त्रणका लागि इम्बोस्ड नम्बर प्लेट सही विकल्प भएको बताउँछन्।
"इम्बोस्ड नम्बर प्लेटमा रहेको रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेशन टेक्नोलोजी (आरएफआईडी) चिपले सवारीसाधनको गतिविधि ट्र्याक गर्न मद्दत गर्छ," महानिर्देशक पोखरेलले भने। "यदि गाडी हराए वा चोरी भए त्यसलाई पत्ता लगाउन र कुन सवारीसाधन कहाँ गइरहेको छ भन्ने वास्तविकता प्राप्त गर्न पनि सहयोग पुर्याउँछ।"
यसका साथै, इम्बोस्ड डिजिटली रिडेबल हुने भएकाले सवारीसाधनको तथ्यांक व्यवस्थापन गर्न र सोही अनुसार नीति बनाउन पनि इम्बोस्ड नम्बर प्लेट जडान आवश्यक रहेको महानिर्देशक पोखरेल बताउँछन्।
नेपाल प्रहरीका प्रवक्ता विनोद घिमिरेले सवारीसाधन चोरी नियन्त्रण गर्न इम्बोस्ड नम्बर प्लेटले सहयोग पुग्ने बताउँछन्। इम्बोस्ड नम्बर प्लेटको प्रभावकारी प्रयोगका लागि यसको प्राविधिक संरचना तयार हुनुपर्ने उनको भनाइ छ।

"अहिलेका साधारण नम्बर प्लेट सजिलै हटाउन सकिने भएकाले सवारीसाधन चोरी गर्न सहज हुन्छ," प्रवक्ता घिमिरेले भने। "जीपीएस जस्ता प्रविधि इम्बोस्ड नम्बर प्लेटमा जडान गर्न सके चोरीका घटनालाई न्यूनीकरण गर्न सहज हुन्छ।"
घिमिरेका अनुसार, चोरी भएका सवारीसाधन प्रायः आपराधिक घटनामा प्रयोग हुने गरेका छन्। "गुण्डागर्दी, लुटपाट र अन्य आपराधिक क्रियाकलापमा आफ्नो पहिचान लुकाउनका लागि यस्ता सवारीसाधन प्रयोग गर्छन्," उनले भने। "प्रहरीले सीसीटीभी क्यामेराको अनुसन्धानबाट लुटपाटमा प्रयोग भएका अधिकांश सवारीसाधनमा नक्कली नम्बर प्लेट भेट्टाइन्छ।"
चिन्ताजनक तथ्यांक
नेपाल प्रहरीको सात वर्षको तथ्यांकले नेपालमा चोरी हुने सवारीसाधनमध्ये २९ प्रतिशत मात्रै फेला पर्ने गरेको देखाएको छ। नेपाल प्रहरीको तथ्यांकअनुसार सात वर्षमा २३ हजार ९०२ वटा सवारीसाधन चोरी भएका छन्। यसमध्ये ६ हजार ९०७ वटा सवारीसाधन मात्रै फेला परेका छन्।
चोरी भएका सवारीसाधनको विवरण:
आर्थिक वर्ष |
चोरी भएको सवारीसाधन |
फेला परेको सवारीसाधन |
२०७५/०७६ |
३००० |
८५१ |
२०७६/०७७ |
२६९७ |
७८० |
२०७७/०७८ |
३३०३ |
१०५९ |
२०७८/०७९ |
४१८४ |
१२१६ |
२०७९/०८० |
४९६९ |
१५०१ |
२०८०/०८१ |
३०३७ |
७७५ |
२०८१/०८२ |
२७१२ |
७२५ |
जम्मा |
२३९०२ |
६९०७ |
स्रोत: नेपाल प्रहरी
इम्बोस्ड नम्बरको विशेषता
परम्परागत नम्बर प्लेटभन्दा फरक धातुको प्लेटमा यान्त्रिक माध्यमद्वारा अंक र अक्षर राखी प्रचलनमा रहेको भन्दा फरक स्वरूपको इम्बोस्ड नम्बरको अक्षर र अंक प्लेटको सतहभन्दा माथि उठेको हुन्छ, जसमा रेट्रो रेफ्लेक्टिङ अर्थात् कम प्रकाशमा पनि चम्कने र सवारीको नम्बर सजिलै पढ्न सकिने विशेषता रहेको विभागका निर्देशक इन्जिनियर श्रीकान्त यादव बताउँछन्।
उनका अनुसार, उपत्यकाभित्र ४ वटा आरएफआईडी गेट बनाइने छ भने बाँकी ६ वटा उपत्यका बाहिर बनाइने छ। १० वटा अनुगमन गेटमध्ये ४ वटा काठमाडौं उपत्यका प्रवेश गर्ने नाकामा बनाइँदै छन्। जसमा नागार्जुन र नागढुंगामा बनिसकेका छन् भने फर्पिङमा काम भइरहेको छ। यस्तै, जगातीमा काम सुरु हुन बाँकी छ।
बाँकी ६ वटा गेट उपत्यका बाहिरका प्रमुख शहरमा निर्माण हुनेछन्। पथलैयामा निर्माण कार्य भइरहेको छ भने इटहरी, बुटवल, पोखरा, कोहलपुर र अत्तरियामा यो वर्षभित्र काम सुरु गर्ने योजना रहेको विभागका निर्देशक इन्जिनियर यादवले बताए।
कम्पनीको जिम्मेवारी
इम्बोस्ड नम्बर प्लेट उत्पादन, वितरण र रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेशन (आरएफआईडी) निर्माणको जिम्मेवारी डेकाटुर टाइगर आईटी कम्पनीले पाएको छ। देशका मुख्य नाकामा बनाइने १० वटा आरएफआईडी गेटमध्ये २ वटा तयार भएको डेकाटुर टाइगर आईटी कम्पनीका चिफ अपरेटिङ अफिसर अरुण हमाल बताउँछन्। उनका अनुसार उपत्यकामा थानकोट र नागार्जुनको मुग्लिङ-सौराहा खण्डका आरएफआईडी गेट निर्माण सम्पन्न भएका छन्।
अपेक्षित फाइदा
सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गरेपछि जिल्ला, प्रदेश तथा मुलुकमा रहेका सवारीसाधनको एकिन विवरण प्राप्त हुने, कृत्रिम बौद्धिकतामा आधारित ट्राफिक तथा सडक व्यवस्थापनमा सहयोग पुग्ने, सडक इजाजत सम्बन्धमा पारदर्शी विवरण प्राप्त हुने, सवारी तथा यातायातको आवागमनलाई थप व्यवस्थित बनाउन योगदान पुग्ने भन्दै इम्बोस्ड नम्बर प्लेट जडान गरिने योजना ल्याएको पोखरेलले बताए।
९९ प्रतिशत मोटरसाइकल चोरी
नेपाल प्रहरीको तथ्यांकअनुसार सात वर्षमा २३ हजार ९०२ वटा सवारीसाधन चोरी भएका छन्। जसमध्ये २३ हजार ६७८ वटा दुईपाङ्ग्रे सवारीसाधन छन् भने २२४ वटा चारपाङ्ग्रे सवारीसाधन छन्। यो तथ्यलाई आधार मान्ने हो भने ९९ प्रतिशत दुईपाङ्ग्रे सवारीसाधन चोरी भइरहेका छन् भने १ प्रतिशत चारपाङ्ग्रे सवारीसाधन छन्।

चोरी भएका सवारीसाधनमध्ये ६ हजार ९०७ वटा मात्रै फेला परेका छन्। यसमा चारपाङ्ग्रे र दुईपाङ्ग्रे क्रमशः ६० र ६ हजार ८४७ वटा मात्रै फेला परेको प्रहरी तथ्यांक छ।