काठमाडौं। नेपाल चेम्बर अफ कमर्सले सुदूरपश्चिम प्रदेश लगानी तथा विकास सम्मेलनलाई पूर्ण सहयोग गर्ने जनाएको छ। सुदूरपश्चिममा आगामी मंसिर १ र २ गते हुने सम्मेलनका लागि चेम्बरले लगानी सहजीकरण, प्रचार-प्रसारलगायत विषयमा सहयोग गर्न लागेको हो।
काठमाडौंको जमलस्थित चेम्बर भवनमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री माननीय कमल बहादुर शाह, प्रदेशका मन्त्रीहरु तथा प्रदेश योजना आयोगका सदस्यसहित आइतबार भएको छलफलमा चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवालले लगानी सम्मेलनका लागि पुर्ण सहयोग गर्ने प्रतिवद्धता जनाए। यसका लागि प्रतिफल दिने आयोजना छनोट र नीतिगत सुधार आवश्यक रहेको अध्यक्ष अग्रवालको भनाइ छ।
उनले भने, ‘सुदूरपश्चिमको आर्थिक विकासका लागि प्रदेशमा प्राकृतिक श्रोतको अथाह सम्भावना रहेका छन्। नीतिगत सुधार भयो भने निजी क्षेत्र आफै लगानी गर्न आउँछन्। प्रदेशमा लगानी प्रतिफलको सुनिश्चितता हुने गरी नीतिहरु बन्न आवश्यक छ। पानी र लगानी एउटै प्रकृतिको हुन्छ जता ओरालो रहन्छ उतै बग्ने गर्दछ।’
सम्मेलनमा उद्योग, खानीजन्य उपज, पर्यटन, सूचना प्रविधि, ऊर्जा, कृषि, जडीबुटी, भौतिक पूर्वाधार, शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखिएको छ। सुदूरपश्चिम प्रदेशमा जलविद्युत, कृषि उत्पादन, पर्यटन र सीमापार व्यापारमा उच्च सम्भावना रहेको छ। पञ्चेश्वर, कर्णाली र पश्चिम सेती जस्ता जलविद्युत आयोजना सफलतापूर्वक सञ्चालनमा आए राष्ट्रिय अर्थतन्त्रमा ठूलो योगदान पुर्याउने अध्यक्ष अग्रवालले बताए।
प्रदेश कृषि-प्रधान भएकाले धान, मकै, गहु, फलफूल, मसला तथा जडीबुटीमा आधारित उद्योग, प्रशोधन र निर्यात-केन्द्रित लगानी आकर्षण गर्न सकिने चेम्बरले उल्लेख गरेको छ। लगानी सम्मेलनमा नीति तथा लगानीमैत्री वातावरण निर्माण गर्न कर राहत, जग्गा व्यवस्था, एकद्वार प्रणाली र सार्वजनिक-निजी साझेदारी (पीपीपी) मोडललाई प्राथमिकतामा राख्ने तयारी गर्न पनि चेम्बरले सुझाव दिएको छ। वातावरणमैत्री उद्योग, जैविक खेती र नवीकरणीय ऊर्जा परियोजनाबाट दीर्घकालीन फाइदा हुने चेम्बर अध्यक्ष अग्रवालले बताए।
२००७ सालमा स्थापना भएको अग्रणी संस्था नेपाल चेम्बर अफ कमर्सले व्यवसायिक तथा औद्योगिक गतिविधी विस्तारलाई संधै उच्च प्राथमिकतामा राख्ने अध्यक्ष अग्रवालले बताए।