काठमाडौं।गत आर्थिक वर्षमा मात्रै चीन र भारतबाट करिब २२ लाख ५४ हजार थान स्मार्ट फोन भित्रिएका छन्। भन्सार विभागको तथ्यांकअनुसार आयात भएका स्मार्ट फोनको भन्सार मूल्य करिब ४८ अर्ब रुपैयाँ पुगेको छ।
चीन नेपालका लागि स्मार्ट फोनको सबैभन्दा ठूलो आपूर्तिकर्ता बनेको छ। गत आर्थिक वर्षमा चीनबाट १८ लाख ८९ हजार ६६४ थान स्मार्ट फोन आयात भएका छन्। यी उपकरणको भन्सार मूल्य ३६ अर्ब ७९ करोड २७ लाख ५८ हजार रुपैयाँ बराबर रहेको छ।
स्मार्ट फोन आपूर्तिमा भारत दोस्रो स्थानमा छ। भारतबाट ३ लाख ६४ हजार ८४२ थान स्मार्टफोन नेपाल भित्रिएका छन्। ती मोबाइलको कुल भन्सार मूल्य १० अर्ब ९९ करोड ६ लाख ८४ हजार रुपैयाँ पुगेको विभागको तथ्यांकमा उल्लेख छ।
चीन र भारतबाहेक अन्य विभिन्न मुलुकबाट पनि स्मार्टफोन नेपाल भित्रिएका छन्। अमेरिकाबाट १ हजार ७८९ थान, संयुक्त अरब इमिरेट्सबाट १ हजार ३९४ थान, कतारबाट १ हजार ८३४ थान, जापानबाट १ हजार ५२० थान तथा अष्ट्रेलियाबाट २ हजार ७६६ थान स्मार्ट फोन आयात भएका छन्।
संख्यात्मक रूपमा यी आयात कम देखिए पनि उच्च मूल्यका प्रिमियम स्मार्ट फोन, विशेषगरी आइफोनजस्ता उपकरण आयात हुने भएकाले विदेशी मुद्रा बाहिरिने परिमाण उल्लेख्य रहन्छ। हङकङ, जर्मनी, क्यानडा, भियतनाम र बेलायतबाट पनि विभिन्न ब्रान्डका स्मार्ट फोन नेपाल भित्रिएका छन्।
स्मार्टफोनसँगै अन्य प्रकारका मोबाइल उपकरणको आयात पनि उल्लेख्य छ। चीनबाट ९ लाख ६५ हजार १५४ थान तथा भारतबाट ४ लाख ३२० थान फोन आयात भएका छन्। सबै प्रकारका मोबाइल उपकरण जोड्दा एक आर्थिक वर्षमा नेपालमा करिब ३६ लाखभन्दा बढी मोबाइल सेट आयात भएका छन्।
चीनबाट आयात भएका स्मार्ट फोनबाट मात्रै ६ अर्ब ८६ करोड १७ लाख रुपैयाँ राजस्व संकलन भएको छ। भारतबाट आयात भएका स्मार्ट फोनबाट थप २ अर्ब ४ करोड ९८ लाख ३६ हजार रुपैयाँ राजस्व प्राप्त भएको छ। अन्य मुलुकबाट आयात भएका स्मार्ट फोन र फिचर फोनसमेत जोड्दा मोबाइल क्षेत्रबाट मात्रै करिब १० अर्ब रुपैयाँभन्दा बढी राजस्व प्राप्त भएको विभागको तथ्यांकमा उल्लेख छ।