काठमाडौं। चीनको थियानजिन सहरमा आयोजित सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा सहभागी नेताहरुले यसपटक पश्चिमा मुलुकलाई झस्काउने गरी फोटो सेसन, भाषणबाजी गरे।
सम्मेलनमा चीनका राष्ट्रपतिसहित रूस, बेलारूस, म्यान्मारका जुन्ता शासकले समेत पश्चिमा व्यवस्था अर्थात् प्रजातन्त्र नमानिने उद्घाेषसमेत गरे। उनीहरूले विश्व व्यवस्था लाेकतन्त्रकाे संरक्षणकर्ता मानिन अमेरिकाकाे हैकम स्वीकार्य नहुने चेतावनीसमेत दिए।
तीन वर्षदेखि छिमेकी युक्रेनमाथि आक्रमण गरेर पश्चिमा लोकतान्त्रिक मुलुकबाट वहिष्करणमा परेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चेतावनीका शब्द बोल्न भ्याए। आयोजक राष्ट्र चीनका राष्ट्रपति सी चीनफिङ, रुसी समकक्षी पुटिनले त पश्चिमा मुलुकका आदेश नमानिने घोषणासमेत गरेका छन्।
अमेरिकाले रुसको तेल किनेको भनेर ५० प्रतिशत थप कर लगाएपछि चिढिएका लोकतान्त्रिक देशका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीप्रति राष्ट्रपति डाेनाल्ड ट्रम्पका सल्लाहकारले कटाक्षसमेत गरे–प्रजातन्त्र नमान्नेहरुसँग साँठगाँठ गरेको भनेर।
हुन पनि सम्मेलनमा सहभागी एकाधबाहेक अधिकांश मुलुकका राष्ट्रप्रमुख र सरकार प्रमुख निरंकुश शासनशैली अपनाएका शासक थिए। इरान, म्यानमार, रुस, बेलारुसलगायत मुलुकका शासकले जनताको आवाजलाई कुल्चिएर शासन गर्दै आएकाे सन्दर्भमा अमेरिकी राष्ट्रपतिका सल्लाहकारले त्यसो भनेका हुन सक्छन्।
तर, सम्मेलनले पश्चिमा मुलुकलाई फेरि एकपटक एकै ठाउँ आएर लोकतन्त्रको विकल्न नभएको सन्देश दिने स्थानमा ल्याइपुर्याएको छ।
सम्मेलनमा विश्व नेताहरुले भेटघाट गरिरहँदा भने प्रथम महिलाहरु राजनीतिबाट टाढा प्रकृतिसँग रमाए।
सोमबार राती सकिएको सांघाई सहयोग संगठन (एससीओ) प्लस शिखर सम्मेलनमा सहभागी विश्वका नेताहरूले सम्बोधन गरिहँदा प्रथम महिलाहरू जलयात्रा र आपसी सद्भाव आदान–प्रदानमा व्यस्त रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन्।
चीनको थियानजिनमा भएको सम्मेलनमा सहभागी नेपालका प्रधानमन्त्री केपी शर्मा ओली धर्मपत्नी राधिका शाक्य, चीनका राष्ट्रपति सी चीनफिङ धर्मपत्नी पेङ लियुनसहित विभिन्न सहभागी मुलुकका प्रथम महिलाको अनौपचारिक भेटघाट कार्यक्रम आयोजना गरिएको हो।
उनीहरूले स्थानीय हाइही नदीमा पानीजहाजबाट जलयात्रा गरेका थिए। सो क्रममा चिनियाँ परम्परागत कलाका साथै आधुनिक विकासको अवलोकन गराइएको थियो।