काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघको २६ औँ साधारण सभा एवं निर्वाचन (१३ औँ अधिवेशन)को तयारी अन्तिम चरणमा पुगेको छ। काठमाडौंको प्रज्ञा प्रतिष्ठान भवनमा चैत्र १७ गते उद्घाटन सत्र आयोजना गरिने छ। सोलगात्तै निर्वाचन प्रक्रिया सुरु हुने महासंघले जनाएको छ।
साधारण सभाको कार्यक्रम तालिकाअनुसार भोलि उद्घाटन सत्रपछि बन्द सत्र पनि सोही दिन सञ्चालन हुने महासंघका अध्यक्ष रवि सिंहले बताए। साथै, उम्मेदवारी दर्ता प्रक्रिया र निर्वाचन प्रक्रिया पनि १७ गते नै गरिने छ। १९ गते बिहान ८ बजेदेखि २ बजेसम्म मतदान हुने कार्यक्रम तय गरिएको छ।
मतदानपछि मत गणना गरी नयाँ नेतृत्व घोषणा तथा जिम्मेवारी हस्तान्तरण गरिने जनाइएको छ। एफक्यानले नयाँ नेतृत्वको चुनावका माघ १५ देखि १७ गतेसम्म हुने भनिएको थियो। तर भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका भएसँगै अधिवेशन स्थगन गरिएको थियो।
७७ जिल्ला संघ, ७ प्रदेश महासंघ, एसोसिएट र एक वस्तुगत संघका गरी हाल मुलुकका ३० हजार भन्दा बढी व्यवसायीहरू महासंघमा आबद्ध छन्। साधारण सभामा देशभरबाट ९ सय ६५ जना प्रतिनिधि र करिब ९ सय पर्यवेक्षक सहभागी हुनेछ। साधारण सभाको उद्घाटन सत्रमा निर्माण क्षेत्रमा केन्द्रीत रही विज्ञको लेख रचना एवं महासंघका गतिविधि समेटिएको ‘निर्माण विशेषाङ्क’ स्मारिकाको विमोचन गरिनेछ।
साधारण सभास्थलमा निर्माण कम्पनीसँग सम्बन्धित् २८ वटा स्टलहरू पनि राखिने महासंघले जनाएको छ। निर्माण उद्योगमा देखिएको चुनौतिका बारेमा घनिभूत छलफल गर्दै निर्माण उद्योगको विकास विस्तारका लागि साधारण सभाले गरेका महत्वपूर्ण निर्णयहरू लिपिवद्ध गर्दै घोषणा पत्र जारी गरिनेछ। साथै यस चुनावी अधिवेशनले आगामी तीन वर्षका लागि ५१ सदस्यीय महासंघ कार्य समितिको समितिको नयाँ नेतृत्व समेत चयन गर्ने महासचिव रोशन दाहालले बताए।
को–को भिड्दै छन्?
निर्माण व्यवसायीहरुको छाता संगठन महासंघको निर्वाचनका लागि सल्हाकार निकोलस पाण्डे र वरिष्ठ उपाध्यक्ष आङदोर्जे(एडी) लामाबीच प्रतिस्पर्धा हुने निश्चित भएको छ। अध्यक्षमा उनी स्वयं, वरिष्ठ उपाध्यक्षमा रोशन दाहाल, महासचिवमा शिवहरि घिमिरे र कोषाध्यक्षमा बालाजी श्रेष्ठको उम्मेदवारी रहने छ।
यस्तै, पाण्डेको पक्षबाट वरिष्ठ उपाध्यक्षमा मुकेश पन्त, महासचिवमा धिरेन्द्र दाहाल र कोषाध्यक्षमा उज्वल गौतम मैदानमा रहने चर्चा छ। देशको वर्तमान राजनीतिक अवस्था र निर्माण व्यवसायमाथि चौतर्फी प्रहार भइरहेका बेला महासंघ एकताबद्ध भएर अगाडि बढ्नुपर्ने महासंघका महासचिव रोशन दाहाल बताउँछन्।