काठमाडौं। नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिई नेपाली श्रमिकलाई मकाउ पठाउने क्रममा ‘वर्ल्ड वाइड ह्युमन म्यानपावर’ले गम्भीर अनियमितता र कानुनविपरीत काम गरेको खुलेको छ।
वैदेशिक रोजगारमा संलग्न वर्ल्ड वाइड ह्युमन रिसोर्स नेटवर्किङ प्रालि (दर्ता नं.५३४-०६१-६२)ले श्रम स्वीकृतिको नाममा झुटा विवरण र कागजात बुझाएर एक कम्पनीको नाममा स्वीकृति लिएर अर्को कम्पनीमा श्रमिक पठाउने गरेको हो। यो गैरकानुनी जालो वर्षौंदेखि सञ्चालन गर्दै आएको तथ्य बाहिर आएको छ।
उपलब्ध प्रमाणअनुसार, ग्राण्ड लिस्बोआ मकाउको श्रम स्वीकृति लिएर ग्यालेक्सी होटल मकाउमा पठाउने, ग्यालेक्सी होटलको श्रम स्वीकृति लिएर मेल्को रिसोर्ट एन्ड इन्टरटेनमेन्ट मकाउमा पठाउने जस्ता कार्यहरू नियमित रूपमा हुँदै आएका छन्। अधिकांश नेपालीलाई सुरक्षा गार्ड, हाउसकिपिङ र क्लिनरका रूपमा पठाइएको पाइएको छ।
मकाउमा कडा श्रम कानुन रहे पनि नेपाल-मकाउबीचको श्रम स्वीकृति प्रक्रियामा मानव संशाधन व्यवसायी सागर थापालियाले राजनीतिक पहुँच र प्रभाव प्रयोग गरी गैरकानुनी कार्यलाई निरन्तरता दिँदै आएको आरोप छ।
यस विषयमा व्यवसायी थपलियाले आफू र आफ्नो कम्पनीले झुटा विवरण नदिएको र फरक-फरक डिमाण्डअनुसार पनि कामदार नपठाएको दाबी गरेका छन्।
नेपाली श्रमिकहरू आफ्नो पारिवारिक र आर्थिक समस्याका कारण मकाउलाई कर्मभूमि बनाउने क्रममा म्यानपावर सञ्चालकहरूले मोटो रकम असुल्दै श्रम स्वीकृति दुरुपयोग गर्ने गरेको बताइन्छ।
यस विषयमा व्यवसायी थपलियाले आफू र आफ्नो कम्पनीले झुटा विवरण नदिएको र फरक-फरक डिमाण्डअनुसार पनि कामदार नपठाएको दाबी गरेका छन्।

तर, यस किसिमका गतिविधिबारे मकाउसमेत हेर्ने हङकङस्थित नेपाली महावाणिज्य दूतावासमा जानकारी पुगे पनि दूतावासले गम्भीर रूपमा छानबिन नगर्दा गैरकानुनी अभ्यास यथावत् रहेको देखिन्छ।
म्यानपावर सञ्चालकको अनियमित श्रम स्वीकृतिले भोलिका दिनमा ठूलो दुर्घटना र समस्या निम्त्याउने जोखिम रहेको विशेषज्ञहरूको चेतावनी छ। गलत कागजात र भ्रामक सूचनाको आधारमा श्रम स्वीकृति दिइनु भनेको नेपाल सरकारलाई नै भ्रमित बनाउनु हो।
त्यसैले सरकार स्वयंले यसप्रति कठोर निगरानी गर्नुपर्ने वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष भुवनसिंह गुरुङले बताएका छन्।
