काठमाडौं। ग्राहकहरूलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ्ग सुविधा उपलब्ध गराइरहेको महालक्ष्मी विकास बैंकले आगामी चाडपर्वलाई लक्षित गर्दै बैंकको क्रेडिट कार्ड प्रयोग गरी सहज र सुरक्षित भ्रमण प्याकेज खरिद गर्न सकिने सुविधा ल्याएको छ। चाडपर्वमा नेपाली विभिन्न देशहरु घुम्न जाने प्रचलनलाई मध्यनजर गर्दै बैंकले यो योजनाको सुरुवात गरेको हो।
यसअन्तर्गत बैंकले विभिन्न प्रतिष्ठित ट्राभल एजेन्सीसँग व्यवसायिक सहकार्यका लागि सम्झौतासमेत गरिसकेको छ। प्रारम्भिक चरणमा पर्यटकले गुरु ट्रभाल्स लि., दरबारमार्ग र रिसेन्ट एण्ड रिदम टुर्स एण्ड ट्राभल्स, उत्तरढोका, काठमाडौंमार्फत यो सुविधा लिन सक्ने छन्।
सम्झौताअनुसार महालक्ष्मी विकास बैंकका क्रेडिट कार्डवाहकले ट्राभल एजेन्सीमार्फत विभिन्न टुर प्याकेज खरिद गर्दा महालक्ष्मी विकास बैंकको क्रेडिट कार्ड प्रयोग गरी खरिद गर्न सक्ने छन्। साथै, आफूले खरिद गरेको टुर प्याकेजको मूल्य बराबरको रकमको भुक्तानी ६ महिनादेखि १२ महिनासम्म लचिलो अवधि रहने गरी मासिक रुपमा भुक्तान गर्न मिल्ने गरी रुपान्तरण गर्न समेत सक्ने छन्।
आफूले खरिद गरेको टुर प्याकेजको बिल पेश गरेपश्चात महालक्ष्मी विकास बैंकले सहज रुपमा सो कारोबारलाई मासिक किस्तामा परिवर्तन गरिदिने छ। यसरी मासिक किस्तामा परिवर्तन गर्दा बैंकले ईएमआई प्रोसेसिङ शुल्क लिने छैन। यस कार्यको सुरुवातसँगै डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न र चाडपर्वलाई थप उत्साहमय र अर्थपूर्ण बनाउन सहयोग पुग्ने छ।
हालै मात्र बैंकले आफ्नो मोबाइल बैकिङ्ग एप ‘महालक्ष्मी स्मार्ट साथी’मा भर्चुअल क्रेडिट कार्डको सुविधा थप गरेको छ। ‘सबल बैंक, सफल सहकार्य’को नारालाई आत्मसाथ गर्दै नेपालीको घरदैलोमा अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको बैंकको देशभर १०३ शाखा कार्यालय र ८ लाख ग्राहक छन्।