काठमाडौं। दक्षिण एसियाका लागि विश्व बैंकका उपाध्यक्ष जोहान्स जुटले नेपालको पहिलो पाँच दिने औपचारिक भ्रमण पूरा गरेर फर्किएका छन्।
उपाध्यक्ष जुटले शान्ति सुदृढीकरण, सेवा सुधार, लोडसेडिङ अन्त्य, र २०१५ को भूकम्प र कोभिड महामारीबाट मुक्ति पाएको नेपालको प्रगति प्रशंसनीय रहेको बताएको विश्व बैंकले जनाएको छ।
उनले भनेका छन्, ‘सरकार, निजी क्षेत्र र विकास साझेदारका प्रतिनिधिले कृषि व्यवसाय, पर्यटन, सूचना प्रविधि र अन्य विकास क्षेत्रमा नेपालको उपलब्धि र यिनलाई विस्तार गर्न थप सुधारको महत्त्व एवं विश्व बैंक समूहले के गर्न सक्छ भन्नेबारे नेपालका वरिष्ठ पदाधिकारीसँग छलफल भयो।’
जुटले विश्व बैंक समूहको नेपालका लागि नयाँ देश साझेदारी ढाँचाबारे सरकारको १६औं योजनासँग सम्बन्धित विषयबारे चर्चा गरेका थिए। उनले नेपालका दुई सबैभन्दा महत्त्वपूर्ण विकास चुनौती रोजगारी सिर्जना र विपद् उत्थानशीलतामा केन्द्रित हुनुपर्ने औंल्याएका छन्।
विश्व बैंक समूहले २०२५ र २०३१ को बीचमा देश साझेदारी ढाँचाअन्तर्गत नेपाललाई लगभग ४२.७ अर्ब उपलब्ध गराउने लक्ष्य राखेको छ। यसको प्रमुख उद्देश्य पर्यटन र डिजिटल विकाससहित प्रतिस्पर्धात्मक एवं लगानी बढाउन व्यावसायिक वातावरण सुधारेर रोजगारी सिर्जना रहेको बैंकले शुक्रबार निकालेको विज्ञप्तिमा उल्लेख छ।
सरकार, उद्यमी र अन्य सरोकारवालासँग मिलेर सुधारलाई समर्थन गर्न र रोजगारी सिर्जना गर्ने कार्यक्रममा लगानी ल्याउनमा केन्द्रित छौं’, जुटले भने।
पाँचदिने भ्रमणका क्रममा उनले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह र राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलसँग भेट गरेका थिए।