काठमाडाैं। स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गतको काभ्रेपलाञ्चोकको थप एक नगर अस्पतालले प्रथम सेवा सुरु गरेको छ। यसपछि जिल्लाका आठ संस्थाबाट स्वास्थ्य बिमाको प्रथम सेवा विन्दुबाट सेवा प्रवाह भइरहेको छ।
पाँचखाल नगर अस्पतालले शुक्रबारदेखि स्वास्थ्य बिमाको प्रथम सेवा सुरु गरेको हो। यसअघि साउन अन्तिम साता बीमा बोर्डसँग सम्झौता गरी जिल्लाको सबैभन्दा पुरानो बनेपा नगरपालिकाद्वारा सञ्चालित बनेपा आधारभूत अस्पताल र मण्डनदेउपुर नगरले सञ्चालनमा ल्याएको आधारभूत अस्पताल स्वास्थ्य बिमा बोर्डमा आबद्ध भई भदौदेखि सेवा सुरु गरेका थिए।
काभ्रेपलाञ्चोकमा स्वास्थ्य बिमाको प्रथम सेवा विन्दु सञ्चालनका लागि अनुमति पाउने सरकारी स्वास्थ्य संस्थाको संख्या आठ पुगेको छ। यसअघि सुन्थान, खोपासी, पाँचखाल र धुलिखेल प्राथमिक स्वास्थ्य केन्द्र तथा मेथिनकोट प्रादेशिक अस्पतालले स्वीकृति पाइसकेका थिए।
जनशक्तिको अभाव देखाउँदै सेवा सुरु नगरेको पाँचखाल नगरले आवश्यक व्यवस्थापन गरी शुक्रबारदेखि सेवा सुरु गरेको जनाएको छ। आइतबारदेखि औपचारिक रूपमा नियमित सहज ढंगले सेवा दिइनेगरी आवश्यक सबै खालको व्यवस्थापन गरिएको नगरप्रमुख महेश खरेलले बताए।
धुलिखेल नगरले भने आफ्नो स्वास्थ्य केन्द्र भवनको सेवालाई गत साउन २६ गतेदेखि धुलिखेल अस्पतालको परिसरबाट सेवा सुरु गरेको छ। यसअघि उक्त केन्द्रले भौतिक पूर्वाधार तथा जनशक्ति अभावको कारण देखाउँदै स्वास्थ्य बीमाको प्रथम सेवा विन्दु सेवा दिन आलटाल गरिरहेको थियो। नगरले धुलिखेल अस्पतालमा बीमा सेवा लिन आउनेलाई सजिलो होस् भनेर धुलिखेल अस्पताल परिसरको भवनबाटै चिकित्सक, नर्स, औषधिसहित ‘रिफरल’ सेवा सुरु गरिएको जनाएको छ।
गत साउन १ गतेदेखि सरकारले सरकारी स्वास्थ्य संस्था नै स्वास्थ्य बीमाको प्रथम सेवा विन्दु हुने नियम लागू गरेको थियो। विसं २०७६ मंसिर १ गतेदेखि प्रथम सेवा विन्दुका रुपमा सूचीकृत मेथिनकोट अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र धुलिखेल, सुन्थान, खोपासी र पाँचखालमध्ये सरकारको नियम लागू हुँदाका बखत मेथिनकोट अस्पताल र प्रास्वाके सुन्थान र खोपासीले मात्रै सेवा दिँदै आएका थिए।