काठमाडौं । प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई)ले नेपालको आर्थिक विकासमा महत्त्वपूर्ण भूमिका खेलेको राष्ट्र बैंकले सार्वजनिक गरेको सर्वेक्षण प्रतिवेदन २०२३/२४ मा उल्लेख गरिएको छ।
राष्ट्र बैंकले आज सार्वजनिक गरेको सर्वेक्षण प्रतिवेदनअनुसार एफडीआईले नेपालमा लगानीको खाडल पुर्न, नयाँ प्रविधि तथा व्यवस्थापकीय अभ्यास परिचय गराउन र देशलाई विश्वव्यापी मूल्य शृंखलामा एकीकृत गर्न सघाउ पुगेको देखाएको हो।
प्रतिवेदनका अनुसार अनुकूल लगानी वातावरणलाई बढावा दिन दिगो नीतिगत प्रतिबद्धताको महत्त्वलाई पुनः पुष्टि गरेको निष्कर्ष निकालिएको छ। प्रतिवेदनमा ८६७ सक्रिय एफडीआई अनुमोदित फर्ममध्ये ५०४ वटाको नमुनाबाट लिइएका २४३ उद्यमको प्रतिक्रियामा आधारित रहेको राष्ट्र बैंकले जनाएको छ।
सर्वेक्षणले एफडीआई प्रवाह र सेयर दुवैमा उल्लेखनीय वृद्धि भएको देखाउँछ। कुल एफडीआई प्रवाह ६.२ प्रतिशतले बढेर ८ अर्ब ५० करोड पुगेको छ भने कुल एफडीआई सेयर १२.७ प्रतिशतले बढेर ३ खर्ब ३३ अर्ब रुपैयाँ पुगेको छ।
प्रतिवेदनका अनुसार चुक्तापुँजी एफडीआई सेयरको सबैभन्दा ठूलो अंश बनेको छ। त्यसपछि क्रमशः जगेडा र ऋण रहेका उल्लेख छ।
क्षेत्रगत वितरणले औद्योगिक क्षेत्र विशेषगरी जलविद्युत् र उत्पादनको अंश बढी रहेको छ। वित्तीय सेवा, सूचना तथा सञ्चार, आवास र खाद्य सेवाको नेतृत्वमा सेवा क्षेत्रको अंश अग्र भागमा रहेको प्रतिवेदनले औंल्याएको छ।
प्रतिवेदनका अनुसार नेपालले ६० देशबाट लगानी भित्र्याएको छ। यसमध्ये भारत, चीन, सिंगापुर, आयरल्यान्ड र दक्षिण कोरिया शीर्ष पाँच स्रोत मुलुक रहेका छन्। प्रतिवेदनका अनुसार भारतकाे ३२.३ प्रतिशत, चीनकाे १०.२ प्रतिशत, सिंगापुर ८.३ प्रतिशत, आयरल्यान्ड ७ प्रतिशत र दक्षिण काेरियाकाे ६.१ प्रतिशत एफडीआइ रहेकाे छ।
सर्वेक्षणका अनुसार उत्पादन क्षेत्रमा क्षमता उपयोग ४७.५ प्रतिशत र एफडीआई उद्यमको समग्र नाफा १०.७ प्रतिशत रहेको छ। एफडीआई उद्यमको बाँकी विदेशी ऋण ५९ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ।
नेपालले विदेशी लगानी आकर्षित गर्न उल्लेखनीय प्रगति गरेको भए पनि यो गतिलाई कायम राख्न व्यावसायिक वातावरणमा सुधार, पूर्वाधार सुधार र नियामक ढाँचालाई बलियो बनाउन सुझाव दिइएको छ।