काठमाडौं। राजधानीसहित देशभर जेनजी पुस्ताको आन्दोलन चर्किँदै गएपछि मंगलबार दिनभर देशका साना–ठूला सहरहरू तनावग्रस्त बने। सोमबारको प्रदर्शनमा राज्यको गोली लागी १९ जनाको मृत्यु र सयौं घाइते भएपछि आन्दोलन अझै उग्र बनेर फैलिएको हो।
आन्दोलनकारीहरूले राजधानीका प्रमुख प्रशासनिक क्षेत्र सिंहदरबार, राष्ट्रपति कार्यालय, संसद भवन, सर्वोच्च अदालत, मन्त्री निवाससहितका सरकारी कार्यालयहरूमा तोडफोड र आगजनी गरेका छन्। यसैबीच, चौतर्फी दबाबपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन्।
उग्र बनेका प्रदर्शनकारीहरूले सरकारी संरचनामात्र नभई व्यावसायिक प्रतिष्ठानहरूलाई पनि लक्षित गरेका छन्। काठमाडौं र पोखरामा भाटभटेनी सुपरमार्केट, हिल्टन होटल, चन्द्रागिरि केवलकार, सतुंगलस्थित सिजी ग्राम, श्रीमिक एयरलाइन्स, ग्लोबल कलेजलगायत प्रतिष्ठानमा आगजनी भएको छ। यसले निजी क्षेत्रलाई ठूलो वित्तीय घाटा पुर्याएको छ।
सामाजिक सञ्जाल प्रतिबन्ध, व्यापक भ्रष्टाचार र राजनीतिक वर्गको विशेषाधिकारप्रति असन्तुष्टिका कारण सुरु भएको जेनजी आन्दोलन अहिले सरकार र निजी क्षेत्र दुवैलाई आक्रान्त बनाउँदै देशलाई अस्थिरतामा धकेलिरहेको छ।