काठमाडाैं। सेप्टेम्बर ९ को साँझ थमेलस्थित आफ्नो घर जलेर खरानी बनेको पीडादायी क्षणलाई व्यवसायी वसन्त चौधरीले फेसबुकमार्फत आफ्नो भावना पोखेका छन्।
चौधरीका अनुसार घटनाको दिन करिब ७ बजे ठूलो भीड घर बाहिर जम्मा भई ढुंगा हान्न थाले, सिसा फुटाए र जबर्जस्ती घरभित्र प्रवेश गरे। उनले हात जोडी विन्ती गरे पनि भीड रोकिएन। ‘त्यो क्षणमा केही अपरिचित युवाहरूले मानवता देखाए र हामीलाई सुरक्षित स्थानमा पुर्याए,’ उनले फेसबुकमा लेखेका छन्।
‘बाहिर उभिएर मैले आफ्नो घर-जहाँ जीवन बित्यो, जहाँ बाबुको सपना सास फेर्थ्यो, जहाँ असंख्य सम्झना जन्मिए-सबै खरानी हुँदै गएको देखेँ। जलेको घरतर्फ हेर्दा लाग्थ्यो अब मेरो टाउकोमाथि कुनै छाना बाँकी रहेन,’ चौधरीले लेखेका छन्।
उनी भोलिपल्ट आमाको श्राद्ध गर्नुपर्ने भए पनि घर जलेर आफू असहाय बनेको बताउँछन्। ‘सन् २००० मा आमाले हामीलाई छाडेपछि २५ वर्षदेखि मैले कहिल्यै यो पवित्र कर्तव्य छुटाएको थिइनँ। तर यस वर्ष नियतिको खेलले मलाई असल छोरा हुनबाट वञ्चित बनायो,’ चौधरीले भनेका छन्।
आफ्नो दिवंगत आमा-बुबालाई सम्झँदै उनले जीवन सदैव संघर्षमै बितेको स्वीकारे पनि अझै अडिग रहने विश्वास व्यक्त गरेका छन्। ‘घरका पर्खाललाई जलेर खरानी बनाउन सकिन्छ, तर परिवारका सम्झना, मूल्य र माया कहिल्यै नष्ट हुँदैनन्। ती त सधैं अमर रहन्छन्,’ चौधरीले भनेका छन्।