काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)मा पहिलो पटक महानिर्देशक (डिजी) खुल्ला प्रतिस्पर्धाबाट छनौट हुने भएको छ। संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सनिबार सार्वजनिक सूचना जारी गर्दै महानिर्देशकका लागि आवदेन खुल्ला गरेको हो।
नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ को दफा १९(१) बमोजिम प्राधिकरणको कार्य सञ्चालनका लागि कार्यकारी प्रमुखका रूपमा महानिर्देशक नियुक्त गरिने छ। योग्यतापुगेका नेपाल सरकार वा प्राधिकरणकै सेवामा बहाल रहेका इच्छुक उम्मेदवारले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र मन्त्रालय, सिंहदरबारमा आवेदन दिनुपर्नेछ।
मन्त्रालयले आवेदन फाराम, आवश्यक योग्यता, अनुभव, पेश गर्नुपर्ने कागजात, छनोट प्रक्रिया तथा सेवा–सुविधासम्बन्धी विस्तृत विवरण आफ्नो आधिकारिक वेबसाइटमा उपलब्ध गराएको जनाएको छ।
प्राधिकरण ५ महिनादेखि महानिर्देशकविहीन भएको थियो। पर्यटनमन्त्री खडकराज पौडेल(गणेश)को पर्यटन मन्त्रालयका मातहतका निकायको नियुक्ती खुल्लाबाट गर्ने प्रतिबद्धता जनाएका थिए।
योसँगै प्राधिकरणको महानिर्देशकका लागि पर्यटन मन्त्रालयका कर्मचारीहरुले पनि प्रतिस्पर्धा गर्न सक्ने भएका छन्। यस अघिपनि प्राधिकरणको महानिर्देशक नियुक्तीको बेला पर्यटन मन्त्रालयका सहसचिवहरुले पनि चाहना राख्ने गरेका थिए। तर, तत्कालिन पर्यटन मन्त्रीहरुले प्राधिकरणकै ११ र १२ तहका कर्मचारीहरुबाट महानिर्देशक छनौट गर्ने गरेका थिए।
