काठमाडौं। अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्कीलाई नियुक्त गरेर शपथ गराउने गरी अन्तिम सहमतिका लागि संविधान संरक्षक राष्ट्रपति भवन शीतलनिवासमा डाकिएको बैठक २ बजेलाई सारिएको छ।
अन्तरिम सरकार गठन गर्न बिहान ९ बजे शीतलनिवास बोलाइएको वार्ता आन्तरिक तयारीका लागि २ बजेलाई सारिएको बुझिएको छ।
बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओलीले राजीनामा दिएपछि बढ्दो अन्योल अन्त्य गर्न सबै पक्षसँग छलफलमा रहेको विज्ञप्ति निकालेर जनाएका थिए।
बिहीबार प्रधानसेनापति अशोक सिग्देल, आन्दोलित जेनजीबाट प्रधानमन्त्रीका लागि सहमत पूर्वन्यायाधीश सुशीला कार्की र राष्ट्रपति पौडेलबीच अन्तरिम सरकार गठनका विषयमा छलफल भए पनि निष्कर्ष निस्कन सकेको थिएन।
सबै विषयमा सहमति भए पनि संसद् विघटनबारे राष्ट्रपति पौडेल विमति राखेपछि वार्ता आज बिहान ९ बजे बस्ने गरी टुंगिएको थियो। राष्ट्रपतिले राजनीतिक दल, संविधानविद्, कानुनविद् र जेनजी प्रतिनिधिसँग वार्ता गरिरहेका छन्।
अन्तरिम सरकारको नेतृत्व पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई दिने विषयमा सहमति बने पनि संविधानले नचिनेकाले प्रक्रियाबारे अझै अन्योल छ।
बिहीबार मध्यरातबाट सुरु भएको सर्वपक्षीय छलफल शुक्रबार बिहान ३ बजेसम्म चले पनि कार्कीलाई अन्तरिम सरकारको नेतृत्व कसरी दिने भन्ने विषयमा कुरा नमिलेको हो। जेनजी आन्दोलनका युवाले संसद् विघटनलाई मुद्दा बनाएका छन्।