काठमाडौं। मुम्बई इन्डियन्सले जारी सिजनको आईपीएल २०२६ मा विजयी सुरुआत गरेको छ। यो जितसँगै मुम्बईले दुई अंक जोडेको छ। आइतबार मुम्बईले प्रतियोगिताको आफ्नो पहिलो खेलमा कोलकाता नाइट राइडर्सलाई ६ विकेटले पराजित गरेको हो।
मुम्बईस्थित वानखेडे क्रिकेट रंगशालामा कोलकाताले प्रस्तुत गरेको २२१ रनको लक्ष्य मुम्बईले १९.१ ओभरमा चार विकेट गुमाएर पूरा गरेको थियो।
मुम्बईको जितमा रायन रिकेल्टनले सर्वाधिक ८१ रन बनाए। ४ बल खेलेका रिकेल्टनले चार चौका र आठ छक्का प्रहार गरे। उनले पहिलो विकेटको निम्ति ओपनर रोहित शर्मासँग १४८ रनको शतकीय साझेदारी गरेका थिए।
ओपनर रोहित शर्माले ७८ रनको अर्धशतकीय पारी खेले। रोहितले ३८ बलमा समान ६ चौका र छक्का प्रहार गरे। तिलक वर्माले २०, सूर्यकुमार यादवले १६ र हार्दिक पण्डयाले १८ रन जोडे। कोलकाताका वैभव अरोरा, सुनिल नराइन र कार्तिक त्यागीले समान एक विकेट लिए।
त्यसअघि पहिलो इनिङमा टस हारेर ब्याटिङमा आएको कोलकाता नाइट राइडर्सले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २२० रन जोडेको थियो।
कोलकाताका निम्ति अजिंके राहानेले ६७ को अर्धकशतकीय इनिङ खेले। ४० बल खेलेका राहानेले तीन चौका र पाँच छक्का प्रहार गरेका थिए। उनले पहिलो विकेटको निम्ति ओपनर फिन एलनसँग ६९ रनको अर्धशतकीय साझेदारी गरेका थिए।
चौथो नम्बरमा ब्याटिङ गर्न आएका अंक्रिस रघुवंशीले पनि ५१ रनको अर्धशतकीय पारी खेले । रघुवंशीले २९ बलमा ६ चौका र दुई छक्का प्रहार गरे। यी दुईले १३ं.३ ओभरदेखि १८.३ ओभरसम्म साझेदारी गर्दै ६० रन जोडेका थिए।
मुम्बई इन्डियन्स पाँच पटकको विजेता हो भने कोलकाता नाइट राइडर्स तीनपटकको विजेता हो।