काठमाडौं। नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले जेनजीले गरेको आन्दोलनमा ज्यान गुमाएकाप्रति दुःख व्यक्त गरेका छन्। यस्तै, आन्दोलनमा घुसपैठ हुँदा सिंहदरबार, सर्वोच्च अदालतजस्ता अधिकांश सरकारी भवनमा आगलागी भएसँगै खर्बौंको सम्पत्ति नष्ट भएकोप्रति अनुसन्धान हुन माग राखेका छन्।
यसैगरी, जेनजीको आन्दोलनबाट संसद विघटन हुन दुःखद् भएको बताएका छन्। आइतबार ६ बुँदे धारणा पेश गर्दै उनले देशकै सर्वोच्च प्रतिनिधिमूलक संस्था प्रतिनिधि सभाको विघटनको कार्य पूर्ण रुपमा अलोकतान्त्रिक र असंवैधानिक भएको बताएका हुन्।
यस्तै, उनले लोकतन्त्रका लागि संघर्ष गरेका पार्टी सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणामाथि आक्रमण अमानवीय र वर्वतापूर्ण भएको बताए।
यस्ता छन् उनले पेश गरेका धारणा
१, जेएनजीद्वारा भाद्र २३ र २४ गते भएको प्रदर्शनमा युवाहरू सहादत हुनु र खबौं सम्पत्तिको तोडफोड, आगजनी भई पूर्ण क्षति हुनु अत्यन्तै दुःखद थियो । आन्दोलनको क्रममा जीवन गुमाउने युवाहरू, सुरक्षाकर्मी लगायतप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै, परिवारजनमा गहिरो समवेदना दोहोर्याउन चाहन्छौँ।
२, उक्त सम्पूर्ण घटनाको छानबिन गर्न हामीले माग गरिसकेका छौँ। सरकारलाई पुनः स्मरण गराउँदछौँ।
३, जेएनजीको भावना विपरीत अवाञ्छित घुसपैठ हुँदा सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, प्रदेश सभा भवनहरू देखि अनेकौं राजनैतिक, प्रशासनिक, व्यवसायिक प्रतिष्ठान, वित्तीय संस्था, मिडिया हाउस र व्यक्तिका निजी घर समेतमा गरेर खर्बौंको संरचना ध्वस्त गरिएको छ। यो अत्यन्तै अकल्पनीय र दुःखद घटना निन्दनीय र भत्र्सना योग्य छ। सरकारले क्षतिको वास्तविक आंकलन प्रक्रिया अविलम्ब शुरु गरोस्।
४, लोकतन्त्रका लागि जीवन पर्यन्त अविचलित रुपमा संघर्ष गरेका पार्टीका आदरणीय सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र पार्टीका केन्द्रीय सदस्य डा. आरजु राणा देउवा माथिको अमानवीय र वर्वतापूर्ण भौतिक आक्रमण निन्दनीय एवं भत्र्सना योग्य छ। उहाँहरू उपचारको क्रममा रहनु भएकोले शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ।
यसैगरी पार्टीका अग्रजहरु, नेताहरु, पार्टीका साथीहरु तथा अन्य राजनीतिक दलका नेताहरु माथि भएको भौतिक आक्रमण निन्दनीय र भत्र्सना योग्य छ। उहाँहरुलगायत आन्दोलनका क्रममा घाइते हुनु भएका सबैको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ।
५, संविधान बमोजिम जनताबाट लोकतान्त्रिक विधि अनुसार निर्वाचित देशकै सर्वोच्च प्रतिनिधिमूलक संस्था प्रतिनिधि सभाको विघटनको कार्य पूर्ण रुपमा अलोकतान्त्रिक र असंवैधानिक छ। यस कार्यले देशको संविधान, संविधानद्वारा प्रत्याभूत नागरिक अधिकार, संघीय लोकतान्त्रिक गणतन्त्रतात्मक शासन व्यवस्था र समावेशी चरित्रको राज्य निर्माण गर्ने संविधानको भावनामा कुठराघात भएको छ। यसले लोकतन्त्र र संविधानलाई कमजोर गर्नुका साथै सम्मानित सर्वोच्च अदालतको पूर्ववर्ती सम्बन्धित फैसला भन्दा विपरीत छ। अविलम्ब कार्यसम्पादन समितिको बैठक बसेर प्रतिनिधि सभाको अलोकतान्त्रिक र असंवैधानिक विघटनको विपक्षमा आफ्नो स्पष्ट धारणा निर्माण गरेर सार्वजनिक गरिएको स्मरण गराउँदछौँ।
६, समस्त नेपाली दिदीबहिनी, दाजुभाइ, युवाहरू एवं पार्टी साथीहरूको भावनालाई सम्मान गर्दै विद्यमान राजनैतिक घटनाक्रम सम्बन्धमा एकताबद्ध रहेर स्पष्ट धारणाहरू तय गर्दै अघि बढ्न नेपाली कांग्रेस दृढ प्रतिबद्ध रहेको स्पष्ट गर्दछ।