काठमाडौं। गत २३ र २४ गते भएको जेनजी प्रदर्शनमा आन्दोनकारीले गरेको बैंक तथा वित्तीय संस्था लुटपाटमाथि नियामक निकायले कर्मचारीमाथि समेत अनुसन्धान गर्ने भएको छ। नेपाल राष्ट्र बैंकले सम्बन्धित बैंकहरुले बुझाएको प्रारम्भिक रिपोर्टमा चित्त नबुझाएर कर्मचारीलाई समेत पुनः अनुसन्धान गर्ने भएको हो।
प्रदर्शनमा के कति क्षति तथा लुटपाट भयो? भनेर बैंक तथा वित्तीय र भुक्तानीसम्बन्धि कार्य गर्ने संस्थाले राष्ट्र बैंकमा मंगलबार रिपोर्ट बुझाएका थिए। जसमा बैंक तथा वित्तीय संस्थाका देशभर ६८ वटा शाखा कार्यालय, विस्तारित काउन्टर र ७० वटा एटिएममा तोडफोड तथा लुटपाट भएको रिपोर्ट बैंकका प्रतिनिधिहरुले राष्ट्र बैंकमा बुझाएका थिए।
राष्ट्र बैंकको व्यवस्थापन समिति र सञ्चालक समितिसामु जेनजी प्रर्दशनमा आन्दोलनकारीको आक्रमणमा भएको भौतिक क्षति, काउन्टर तथा भल्टबाट र एटिएमबाट लुटिएको करोडौँ रुपैयाँसहित लकरमा राखिएको सुनसमेत लुटिएको रिपोर्ट बैंकहरुले बुझाए। बैंकबाट आएको रिपोर्टमा चित्त नबुझेर पुनः अध्ययन तथा परीक्षणका गरेर रिपोर्ट बुझाउन निर्देशन दिइएको राष्ट्र बैंक उच्च स्रोत बताउँछ।
सुरक्षाको हिसाबले बैंकको लकर र भल्ट खोल्न वा फुटाउन सामान्य हातहातियारले असम्भव हुनाले प्रदर्शनकारीले लुटेको हो वा कर्मचारीले नै लुकाएका हुन्? शंकाको सिर्जना भएको स्रोत बताउँछ।
‘भौतिक संरचना तोडफोड तथा आगजनीबाहेक काउन्टर र एटिएममा भएको पैसा लुटपाट स्वाभिक मान्न सकिन्छ,’ राष्ट्र बैंक स्रोतले क्यापिटल नेपालसँग भन्यो, ‘भल्टमा भएको पैसा र लकरमा भएको सुन लुटिएको विषयमा चित्त बुझाउने ठाउँ भएन। त्यही भएर थप विस्तृत अध्ययन गरेर रिपोर्ट बुझाउन भनेका छौँ। त्यसमा पनि चित्त नबुझे राष्ट्र बैंकको प्रतिनिधि पठाएर अनुसन्धान गर्नुपर्ने हुन्छ।’
सुरक्षाको हिसाबले बैंकको लकर र भल्ट खोल्न वा फुटाउन सामान्य हातहातियारले असम्भव हुनाले प्रदर्शनकारीले लुटेको हो वा कर्मचारीले नै लुकाएका हुन्? शंकाको सिर्जना भएको स्रोत बताउँछ। राष्ट्रिय वाणिज्य बैंकको बानेश्वर शाखाबाट सुन धितो कर्जावापत लिएर लकरमा राखिएको १८ केजी अर्थात् एक हजार ५४३ तोला सुन र काउन्टर र लकरबाट पाँच करोड १५ लाख नगद लुटिएको रिपोर्ट गभर्नरसामु बैंकले बुझाएको थियो।
‘भल्ट फुटाउनु सामान्य कुरा होइन, प्रदर्शनकारीबाट लुटपात भएको भए बैंकले इन्स्योरेन्सबाट कभर गर्न सक्छ। तर, बैंकका कर्मचारी वा अन्य तत्वबाट लुटिएको हो भने त्यसको कारवाही छुट्टै हुन्छ। बैंकको सिसिटिभी क्यामेरा, भल्ट र लकर कसरी तोटफोड भएको हो। विस्तृत अध्ययन गर्नुपर्ने हुन्छ,’ राष्ट्र बैंक स्रोत भन्छ।
जसमा मुख्य राष्ट्रिय वाणिज्य बैंक, हिमालयन बैंक, ग्लोबल आइएमई बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंकलगायतका शाखा कार्यालय, एटिएममा आक्रमण भएको रिपोर्टको परिमाण बढी थियो।