काठमाडौं। भ्रष्टाचार र सामाजिक सञ्जालमाथिको प्रतिबन्धविरुद्ध जेनजी समूहको आन्दोलनका क्रममा निजी प्रतिष्ठानमाथि गरिएको आगलागी र तोडफोडपछि बिमा कम्पनीमा करिब पौने २१ अर्ब बराबरको बिमा दाबी पर्ने देखिएको भएको छ।
बिमा कम्पनीको प्रारम्भिक दायित्व मूल्यांकन विवरणअनुसार भदौ ३१ सम्म २० अर्ब ७० करोड ३८ लाख रुपैयाँ बढीको बिमा दाबी सिर्जना हुने देखिएको हो।
भदौ २३–२४ को जेनजी आन्दोलनकारीले निजी तथा सार्वजनिक सम्पत्तिमा आगजनी, तोडफोड गर्दा अर्बौं रुपैयाँ बढीको सम्पत्ति नष्ट भएको छ। आन्दोलनमा भएको क्षतिको दाबी भुक्तानी बिमा कम्पनीले सम्पत्ति बिमा गराएका बीमितलाई ‘हुलदंगा जोखिम बिमा’अन्तर्गत भुक्तानी गर्नुपर्नेछ।
जेनजी प्रर्दशनकारीले सर्वोच्च अदालत, संसद् भवन, सिंहदरबारभित्रका मन्त्रालयसहित देशका महत्त्वपूर्ण सरकारी संरचनामा ठूलो क्षति पुर्याएका छन्। निजी क्षेत्रका भाटभटेनी स्टोर, चौधरी ग्रुपका विभिन्न प्रतिष्ठान, गाडीका सोरुम, होटल, एनसेललगायत व्यावसायिक प्रतिष्ठानमा पनि व्यापक नोक्सानी भएको छ।
आन्दोलनमा सार्वजनिक र निजी दुवै क्षेत्रका सम्पत्तिमा आगजनी र तोडफोड गरी ठूलो क्षति पुगेको थियो भने बिमा भएको सम्पत्तिको अहिले दाबी पर्न थालेको हो।
असहज परिस्थितिका कारण निर्जीवन बिमा व्यवसायमा सिर्जत बिमा दाबीको प्रारम्भिक विवरण बिमा कम्पनीले नेपाल बिमा प्राधिकरणलाई उपलब्ध गराएका छन्। भदौ ३१ सम्म १४ वटा ठूला निर्जीवन बिमा कम्पनी र ४ वटा माइक्रो इन्स्योरेन्समा गरी कुल १ हजार ९८४ वटा दाबी पर्ने देखिएको छ।
बिमा प्राधिकरणद्वारा सार्वजनिक बिमा दाबीको प्रारम्भिक विवरणअनुसार संख्याको आधारमा सबैभन्दा बढी शिखर इन्स्योरेसमा ३६६ वटा र दाबी रकमको आधारमा सबैभन्दा बढी द ओरियन्टल इन्स्योरेन्समा छ। साथै, सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा २५८, सगरमाथा लुम्बिनीमा २३३ वटा र हिमालयनमा १९६ वटा बिमा दावी परेको छ।
रकमको आधारमा द ओरियन्टल इन्स्योरेन्समा ५ अर्ब १४ करोड रुपैयाँ बढीको ४० वटा बिमा दाबी, सिद्धार्थ प्रिमियरमा ४ अर्ब ९३ करोड बढीको २५८ वटा, शिखरमा २ अर्ब ३९ करोड बढीको ३६६ वटा, आइजिआई प्रुडेन्सियलमा १ अर्ब ५९ करोड बढीको २४ वटा, सगरमाथा लुम्बिनीमा १ अर्ब ४७ करोड बढीको २३३ वटा, हिमालयन एभरेष्टमा १ अर्ब १५ करोड रुपैयाँ बढीको १९६ वटा र नेको इन्स्योरेन्समा १ अर्ब ९ करोड रुपैयाँ बढीको ४० वटा बिमा दाबी परेका छन्।
१ अर्ब रुपैयाँभन्दा कम बिमा दाबी पर्ने ४ वटा माइक्रो इन्स्योरेन्ससहित ११ वटा छन्। यिनमा सानिमा जिआइसीको ७८ करोड, राष्ट्रिय बिमा कम्पनीको ४९ करोड, युनाइटेडको ४८ करोड, नेपाल इन्स्योरेन्सको ४६ करोड, एनएलजीको ३८ करोड, प्रभु इन्स्योन्सको १९ करोड र नेशनल इन्स्योरेन्सको ६ कराेड रुपैयाँ बराबरको दाबी परेको छ।
साथै, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सको ११ करोड, स्टार माइक्रो इन्स्योरेन्सको ६ करोड, नेपाल माइक्रोको ५ करोड र ट्रस्ट माइक्रो इन्स्योरेन्समा ४ करोड रुपैयाँ बढीको बिमा दाबी परेको छ।

