पर्सा। पर्सास्थित वीरगञ्जको प्रतिष्ठाको प्रतीक यहाँको घन्टाघरको केही भाग भत्किएको संरचना सात महिनापछि मर्मतसम्भार गरिएको छ। गत फागुन ७ मा भत्किएको घन्टाघरको ‘बाल्कोनी’ संरचना कमजोर भएर इँटा झरेको थियो।
वीरगञ्ज महानगरले घन्टाघरको भत्किएको संरचना मर्मतसम्भार र रङरोगन गरेर फेरि पहिलाकै अवस्थामा ल्याएको छ।
महानगरका भूमि व्यवस्था तथा सहरी विकास महाशाखा प्रमुख प्रभात झाले वीरगन्जको प्रतीक घन्टाघर मर्मतसम्भार गरेर घुम्टो पनि हटाइएको जानकारी दिए।
उनले भने, ‘घन्टाघरको संरचना मेसिन प्रयोग गरेर मर्मतसम्भार गर्न गर्न सकिने अवस्था थिएन। ऐतिहासिक धरोहर भएकाले पनि म्यानुअल ढंगले मर्मतसम्भार गर्दा केही समय बढी लागेको हो। अहिले घन्टाघरको लगभग सबै संरचना निर्माणको काम सकिएको छ।’
महाशाखा प्रमुख झाले घन्टाघर वरपर अत्याधिक सवारीसाधनको चाप बढी हुने भएकाले सवारीसाधन र यात्रुको सुरक्षालाई ध्यान दिँदै कन्स्ट्रक्सन नेट अर्थात् झालीले ढाकेर मर्मतसम्भार गरिएको बताए।
‘अहिले घन्टाघरको वरपर लगाइएको स्काफोल्डिङ र कन्स्ट्रक्सन जालीसमेत हटाइसकेका छौं’, उनले भने, ‘मर्मतसम्भारपछि घन्टाघर कम्तीमा पनि १० वर्षसम्मका लागि टिकाउ हुने विश्वास गरेका छौं। यद्यपि घन्टाघरभित्रका संरचना भने पुरानो हुँदै पनि गइरहेका छन्।’
महाशाखा प्रमुख झाले घन्टाघर निर्माण करिब २० लाखभन्दा कममा हुने आकलन गरेको बताए। ‘अहिलेसम्म त बिल तयार भइसकेको छैन’, उनले भने, ‘सो अनुमानित लागतभन्दा कममै होला भन्ने विश्वास लिएका छौं।’
घन्टाघर निर्माणको ठेक्का भने महाशक्ति कन्स्ट्रक्सनले पाएको थियो। वीरगञ्ज आउने स्वदेशी तथा विदेशी पर्यटकको मुख्य आकर्षणको रूपमा घन्टाघर रहँदै आइरहेको छ।–रासस