काठमाडौं। मनसुन सक्रिय हुँदा एक सातादेखि देशैभर वर्षा भइरहेको छ। निरन्तरको वर्षापछिको बाढीपहिरोले देशका सात वटा राजमार्ग पूर्ण अवरुद्ध बनेका छन्। दसैं नजिकिएसँगै जन्मथलो फर्किनेहरुको संख्या बढेको छ। तर, वर्षा नरोकिँदा देशका विभिन्न सडक अवरुद्ध भएका छन्।
काठमाडौं हुँदै पश्चिम नेपाल पुग्ने एक मात्र मुग्लिन–नारायणगढ सडकको तोइन खोलामा शुक्रबार बेलुकी ६ बजे गएको पहिरोले उक्त खण्ड १८ घन्टासम्म सञ्चालन हुन नसकेको हो। अहिले पहिरो पन्छाउने काम गरिए पनि सडक माथिबाट पहिरो खस्ने क्रम नरोकिएकाले यातायात सञ्चालन हुन सकेका छैनन्।
काठमाडौं भित्रिने र बाहिरिने सवारी लामो समयसम्म रोकिँदा हजारौं यात्रुको बिचल्ली भइरहेका बेला भौतिक, पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले मन्त्रालयमा सरोकारवाला निकायसहित यातायात व्यवसायीलाई बोलाएर छलफल गरेका छन्।
बैठकमा सडक विभाग, गृह मन्त्रालय, यातायात व्यवसायी महासंघलगायत निकायका प्रतिनिधि सहभागी छन्। बैठकमा अवरुद्ध राजमार्ग सुचारु गरेर चाडपर्वमा यात्रुलाई गन्तव्यसम्म पुर्याउने विषयमा छलफल भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिए। उनले दसैं नजिकिँदै गएकाले रात्रिबसलाई दिउँसोमा सञ्चालन गर्न अनुमति दिनुपर्ने मन्त्रीसँग आग्रह गरिएको बताए।
निरन्तरको वर्षापछि सडक दुरवस्था र खाल्डाखुल्डीका कारण यातायात सञ्चालनमा समस्या भइरहेको विषयमा मन्त्रीलाई जानकारी दिइएको उनको भनाइ छ।
‘मुग्लिन नारायणगढ खण्ड मात्रै नभए बीपी राजमार्ग, नारायणगढ–बुटवल खण्डअन्तर्गत दाउन्नेमा पनि शुक्रबारदेखि सडक अवरुद्ध बनेकोबारे मन्त्रीलाई अवगत गरायौं’, उनले भने। सडक मर्मत नगरी टिकट बुकिङ खुलाउन सकिँदैन भनेका छौं’, उनले भने। तत्काल अवरुद्ध सडकमा यातायात सञ्चालन गर्न हेयाभी इक्विपमेन्ट परिचालन गरिनुपर्ने उनले बताए।
बैठकमा महासंघ अध्यक्ष विजयबहादुर स्वाँरले रातीको समय पहिरो गएका कारण रात्रिबसलाई दिउँसो चलाउन अनुमति दिएर सहज बनाइनुपर्ने आवश्यकता औंल्याए।
उनले भने, ‘निरन्तरको वर्षाले शुक्रबारदेखि देशभरकै सडक अवस्था एकदमै नाजुक बनेको छ । नारायणगढ–मुग्लिन सडक खण्डमा २० घन्टा भइसक्यो सडक अवरुद्ध भएको। अतः दिउँसोमा सुरक्षित हुने हुँदा रात्रिबस सञ्चालन गर्न मन्त्रीलाई सुझाएका छौं।
बैठकमा मन्त्री घिसिङले चाडपर्वमा यातायात सहज बनाउन फास्ट ट्रयाकमा काम गर्ने गरी सरोकारवालासँग छलफल गरिएको जानकारी दिए। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले चाडपर्वमा यातायात सहज बनाउने विषयमा भदौ २९ को बैठकले निर्णय गरेको र मौसम प्रतिकूल हुँदा समस्या आएको बताए।