काठमाडौं। हिमाल देख्ने पर्यटक र सोलुखुम्बुका गाउँलेलाई उडानको सहजता दिन सन् १९९८ सेप्टेम्बर २१ मा पहिलोपटक आकाशमा उडेको यती एअरलाइन्स आज २७ वर्ष पूरा भएको छ। १९ सिट क्षमता भएकाे दुई थान ‘डिएचसी ६’ ट्विनटर जहाजमार्फत उडान सुरु गरेको यात्रा अहिले देशकै अग्रणी वायुसेवा बन्न पुगेको छ।
यतीले एक एक वर्षमा ९ लाख ९३ हजार ६०५ यात्रु बाेकेकाे छ। ‘लुक्लालाई केन्द्र बनाएर सुरु गरिएको उडानलाई यात्रुहरूले दिनुभएको माया र भरोसाले नै २७ वर्षको यात्रासम्म पुर्याएको हो,’ अध्यक्ष शेर्पाले भने, ‘हामी चाँडै नयाँ जहाज थपेर यात्रुहरूलाई अझ सुलभ र सहज सेवा दिनेछौं।’
मुलुकभरिनै यती एयरलाइन्सको सेवा प्रवाह गर्ने उद्देश्यका साथ निकट भविष्यमै ३ देखि ५ वटा जहाज थप्ने योजनामा काम अगाडी बढाइरहेको अध्यक्ष शेर्पाको भनाइ छ। हाल ७ वटा एटीआर‑७२ जहाजमार्फत विभिन्न ७ गन्तव्यमा उडान गरिरहेको बताउँदै जहाजको संख्या १० देखि १२ वटा पुर्याउने योजनाका साथ काम भइरहेको उनले बताए।
एयरलाइन्सको क्षमता विस्तार र सर्वसाधारणलाई समेत हिस्सा बाढ्न प्रिमियममा आईपीओ जारी गर्ने तयारी समेत गरिरहेको छ। ‘हाम्रो सोच त तत्कालै आईपीओ जारी गर्ने भन्ने हो,’ अध्यक्ष शेर्पाले भने, ‘अहिले देशको विषम परिस्थितिले निर्वाचनपछि मात्र हुने सम्भावना देखेका छौं, हामीले सबै डकुमेन्ट पूरा गरेर धितोपत्र बोर्डमा पठाइसकेका छौं।’
आन्तरिक उडानमा रहेका एयरलाइन्समध्ये २१ प्रतिशत हिस्सा ओगटेको यती एयरलाइन्समा मुख्य सेयरधनीमध्ये ४६.८२ प्रतिशत एशियन लाइफ इन्स्योरेन्स, २५.०३ प्रतिशत सोनाम शेर्पा र २०.०६ प्रतिशत चन्दा शेर्पाको सेयर स्वामित्व छ।
यतिको अकुपेन्सीदर सन २०२५ मा ८२ प्रतिशत छ। २०२५ मा अकुपेन्सीदर ७८ प्रतिशत थियो। कम्पनीले आर्थिक वर्ष २०२४ मा चार अर्ब २५ करोड, आव २०२३ मा तीन अर्ब ७७ करोड, आव २०२२ मा तीन अर्ब ९२ करोड र आव २०२१ मा एक अर्ब ३९ करोड रुपैयाँ बढीको व्यापार गरेको थियो। यती एयरलाइन्स मात्र हाल ६०० भन्दा बढी कर्मचारीहरु आबद्ध रहेका छन्। यस्तै,यतीले एक/एक वर्षमा ९ लाख ९३ हजार ६०५ यात्रु बाेकेकाे छ।
यसरी सुरु भएको थियो यती
यती एयरलाइन्सका संस्थापकद्वय लाक्पा सोनाम शेर्पा र स्वर्गीय आङछिरिङ शेर्पा हुन्। दशकौंदेखि नेपालको पर्यटन क्षेत्रमा क्रियाशील शेर्पा दाजुभाईलाई सोलुखुम्बुको प्रख्यात पर्यटन गन्तव्य लुक्लामा विदेशी पर्यटक लैजान हवाई टिकट पाउनै हम्मे पथ्र्यो।
चाहेका बेला टिकट नपाइने, हप्तौंसम्म कुर्नुपर्ने र वायुसेवा निगम कर्मचारीका चाकडी नगरेसम्म उडानै नहुने स्थिति चिर्न शेर्पा दाजुभाई आफैंले वायुसेवा कम्पनी खोलेका थिए।
यतीले भगिनी वायुसेवाका रूपमा तारा एयरको पनि सञ्चालन गरिरहेको छ। ताराले दुर्गम भेगका अधिकांश विमानस्थलमा उडान गरिरहेको छ। यतीले भने सुगम भेगमा मात्र उडान गर्दै आएको छ।