काठमाडौं। काठमाडौंबाट पश्चिम तराई जोड्ने नारायणगढ-मुग्लिन सडक खण्ड विगत ४५ घण्टापछि एकतर्फी खुला भएको छ। यो राजमार्गअन्तर्गत तुइन खोला नजिक पहिरो खस्ने क्रम नरोकिएकाले यो सडक सञ्चालन अनिश्चित बनेको छ।
नेपालीहरूको महान पर्व दसैं नजिकिएसँगै काठमाडौं उपत्यकाबाट घर फर्किने यात्रु बढे पनि राजमार्ग अवरुद्ध हुँदा समस्या परेको छ। सडक खण्डको पहिरो पन्छाउने काम भइरहँदा पनि पहिरो खस्ने क्रम नरोकिएकाले सडक खण्ड आउजाउ गर्न समस्या देखिएको हो।
नारायणगढ-मुग्लिन सडक हुँदै पश्चिम तराई जाने तथा आउनेका लागि वैकल्पिक सडक प्रयोग गर्न सरोकारवालाले आग्रह गरेका छन्। यो सडकमा दैनिक १५ हजार बढी सवारी साधन आवतजावत गर्छन्। यात्रुहरूको सहजताका लागि विभिन्न वैकल्पिक मार्गहरू प्रयोग गर्न सरोकारवालाले सुझाएको छन्।
नौबिसे-दामन-हेटौँडा र मुग्लिन-भिमाद-डेढगाउँ-गैँडाकोट (कालीगण्डकी करिडोर)बाट गन्तव्यमा पुग्न सकिने सडक डिभिजन सडक कार्यालयका प्रमुख नारायण लामिछानेले बताए। यी मार्गमा ठूला सवारी साधन (ट्रक, बस)को आवागमनमा समस्या हुन सक्ने भएपनि साना गाडीहरू र मोटरसाइकलका लागि भने यी मार्गहरू उपयोगी हुने लाामिछाने बताउँछन्।
मुग्लिनको आसपासमा फसेका गाडीहरू पोखरा जाने बाटोमा दमौली कटेपछि भिमादबाट नवलपुरको डेढगाउँ हुँदै गैँडाकोट निस्कन सक्छन्।
‘नयाँ भञ्ज्याङ-दामन-हेटौँडा सडक खण्ड पुरानो बाइरोड हो, जुन अहिले पक्की भइसकेको छ,’ उनले भने, ‘यो बाटो प्रयोग गरेर काठमाडौंबाट हेटौँडा हुँदै पूर्व वा पश्चिम जान सकिन्छ।’
यस्तै, कुलेखानी-हेटौँडा वा कान्तिलोकपथ रुट पनि वैकल्पिक बाटो प्रयोग गर्न सकिन्छ। काठमाडौंबाट हेटौँडा हुँदै तराई झर्नका लागि यी मार्गहरू पनि प्रयोग गर्न सकिन्छ। मुग्लिन क्षेत्रमा फसेका गाडीका लागि भने भिमाद-कालीगण्डकी कोरिडोर रुट प्रयोग गनै सकिन्छ।
मुग्लिनको आसपासमा फसेका गाडीहरू पोखरा जाने बाटोमा दमौली कटेपछि भिमादबाट नवलपुरको डेढगाउँ हुँदै गैँडाकोट निस्कन सक्छन्। डेढगाउँबाट कालीगण्डकी कोरिडोरको पक्की बाटो प्रयोग गरी तराई झर्न सकिने उनी बताउँछन्।
दाउन्नेको समस्यालाई कम गर्न पश्चिमतर्फ जाने सवारीहरूका लागि वैकल्पिक मार्गहरू प्रयोग गर्न सक्छन्। नारायणघाट बुटवलका प्रमुख चुडाराज ढकालका अनुसार पोखरा-पाल्पा मार्ग वैकल्पिक बाटो प्रयोग गर्न सकिन्छ।
‘पोखरा, पाल्पा र गुल्मी हुँदै पश्चिमतर्फ जानका लागि पोखरा–पाल्पा मार्ग यो बाटो प्रयोग गर्न सकिन्छ,’ उनले भने, ‘पूर्व जाने गाडीले पूर्वतर्फ जाने गाडीका लागि बीपी राजमार्ग लगायतका अन्य बाटोहरू पनि उपलब्ध छन्।’