काठमाडौं। नेपाल–चीन जोड्ने सिन्धुपाल्चोकको तातोपानी र केरुङ नाका बन्द हुँदा दसैंको सामान बेच्न समस्या भइरहेको व्यवसायीले गुनासो गरेका छन्।
नेपाल–चीन जोड्ने प्रमुख दुई नाका वर्षाका कारण अवरुद्ध हुँदा दसैंका लागि ल्याइएका हजारौं कन्टेनरका सामान नाकामा रोकिँदा समस्या भइरहेको व्यवसायी बताएका हुन्।
नेपाल राष्ट्रिय व्यवसायी महासंघका निवर्तमान अध्यक्ष कुमार कार्कीले दसैंमा नेपाल–चीन जोड्ने दुई प्रमुख नाका अवरुद्ध हुँदा सामान नाकामा आएर रोकिएको जनाए।
गत असार २४ मा नेपाल–चीन सिमानामा बग्ने लेन्दे खोलामा आएको बाढीले मितेरी खोलाको पुल बगाउनुका साथै पासाङल्हामु राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो। मितेरी पुल नबन्दा अहिले पनि उक्त राजमार्ग सञ्चालनमा आउन सकेको छैन।
एक महिनादेखि सिन्धुपाल्चोकको तातोपानी नाका पनि अवरुद्ध भएको छ। राजधानी काठमाडौंबाट सिन्धुपाल्चोकको तातोपानी जोड्ने अरनिको राजमार्गका विभिन्न ठाउँमा पहिरो जाँदा उक्त बाटोसमेत सञ्चालन हुन नसक्दा सामान नाकामा रोकिएका निवर्तमान अध्यक्ष कार्कीको भनाइ छ।
राष्ट्रिय व्यापार संघका पूर्वअध्यक्ष सरोज श्रेष्ठले दुवै नाका बन्द भएपछि लत्ताकपडा र कच्चापदार्थ नआउँदा उद्योगी व्यवसायी मर्कामा परेका बताए। उनका अनुसार हाल तातोपानी नाकामा तीन हजारभन्दा बढी र केरुङ नाकामा १५०० बढी कन्टेनर सामग्रीसहित रोकिएका छन्।
नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष मनोजबाबु श्रेष्ठले दसैँको नजिक बाटो बन्द हुँदा व्यवसायीको चिन्ता बढेको धारणा राखे। ‘जेनजी प्रदर्शनका कारण समयमा नाकाबाट सामान ल्याउन नसक्दा व्यवसायी समस्यामा परेका छन्,’, उनले भने।
दसैंमा सामान नआउँदा व्यवसाय सञ्चालनमा समस्या भइरहेको व्यापारीको भनाइ छ। समान अभाव हुनुका साथै भएका सामान महँगोमा खरिद गर्नु परिरहेको ग्राहकले गुनासो गरेका छन्।
काठमाडौंको कीर्तिपुरबाट न्युरोडमा सामान किन्न आएका हीराकाजी महर्जनले यसपटक गत वर्षको तुलनामा लत्ताकपडा महँगो भएको बताए। दसैंअगाडि काठमाडौँको महाबौद्ध, असन, न्युरोड, कलंकी, चाबहिल, कोटेश्वर, बानेश्वरलगायत क्षेत्रमा लत्ताकपडा किन्ने ग्राहकको घुइँचो लाग्ने गर्दछ।