काठमाडौं। निजी वायुसेवा कम्पनी बुद्ध एयरले भारतीय सहर कोलकातामा पुनः नियमित उडान गर्ने भएको छ। कम्पनीले आगामी १९ अक्टोबर (२ कात्तिक) देखि काठमाडौं-कोलकाता रुटमा उडान थाल्ने तयारी गरेको हो।
बुद्ध एयरले यसअघि २७ मे २०१९ (२०७६ साल) मा पहिलो पटक कोलकातामा नियमित उडान गरेको थियो। तर, त्यसलाई निरन्तरता दिन सकेको थिएन। यसपटक पुनः सुरु गर्न लागिएको उडानका लागि कम्पनीले टिकट बुकिङसमेत खुला गरेको छ।
काठमाडौं-कोलकाता बीचको उडान समय करिब १ घण्टा ३० मिनेट हुनेछ। बुद्ध एयरले यस रुटमा आइतबार, मंगलबार र बिहीबार हप्तामा तीन पटक उडान गर्ने गरी तालिका बनाएको छ।
नेपाल र कोलकाताबीच व्यापारिक सम्बन्ध घनिष्ट रहेकाले यो उडानले यात्रु तथा व्यवसायी दुवैलाई सहजता दिने विश्वास गरिएको छ।
१९ अक्टोबरदेखि काठमाडौं-कोलकाता सीधा उडानको एकतर्फी भाडा १३ हजार ३५३ रुपैयाँ रहेको छ। निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले अन्तर्राष्ट्रियतर्फको दोश्रो उडान भारतको पश्चिम बंगालको राजधानी कोलकातामा हुने भएको हो।
काठमाडौं-कोलकाताको सीधा हवाई सेवा सञ्चालन गर्ने बुद्ध एयर एकमात्र नेपाली विमान सेवा कम्पनी हो। अहिले यो रुटमा हवाई उडान गर्नेमा पनि बुद्ध एयर एक मात्र हुनेछ।
सुरुमा साताको तीन दिन आइतबार, मंगलबार र बिहीबार उडान सञ्चालन गर्ने छ। काठमाडौंबाट बिहान ७ बजे र कोलकाताबाट स्थानीय समय ९:२० बजे उडान हुनेछ। कोलकाता उडान एटीआर-७२ जहाजबाट गर्ने छ। यस रुटको उडान अवधि लगभग एक घण्टा ३५ मिनेटको हुनेछ।
यात्रुको समय र पैसाको बचत होस् हेतुले बुद्ध एयरले नेपालबाट भारतका विभिन्न धार्मिक तथा सांस्कृतिक स्थल भ्रमणका लागि आउटबाउन्ड तथा भारतबाट नेपालका विभिन्न स्थानको भ्रमणका लागि इनबाउन्ड होलिडे प्याकेज पनि सञ्चालन गरिरहेको छ।
नेपाली यात्रुलाई कोलकाता उडानसँगै जग्गन्नाथपुरी दर्शन, सुन्दरवन, गंगा सागरलगायतका भ्रमण प्याकेज सञ्चालनमा आउने छन्। यी प्याकेज बुद्ध एयरको भगिनी संस्था बुद्ध होलिडेजले सञ्चालन गरिरहेको छ।
व्यापार, कामकाज वा पारिवारिक भ्रमण जेसुकै भए पनि कोलकाता उडानमार्फत् भारतको पर्यटन बजारलाई नेपाल भित्र्याउने लक्ष्य कम्पनीले राख्दै आएको छ।
उडान तथा होलिडे प्याकेजमार्फत् भारतीय धार्मिक तथा पर्यटकीय यात्रुलाई नेपाल भित्र्याई पर्यटन प्रवद्धनमा टेवा पुर्याउने विश्वास कम्पनीको रहेको छ। कम्पनीले देशका विभिन्न भागमा दिनहुँ ६ दर्जनभन्दा बढी उडान भरिरहेको छ। अन्तर्राष्ट्रियतर्फ बुद्ध एयर भारतको वाराणसीमा साताको सोमबार, बुधबार र शुक्रबार उडान भरिरहेको छ।