काठमाडौं। मुग्लिन–नारायणगढ सडक खण्डअन्तर्गत तुइनखोलामा पहिरो खस्दा केही दिनयता दैनिकजसो सर्वसाधारणले सास्ती भोगिरहेका छन्।
पहिरो हटाउँदै राजमार्गमा यातायात सञ्चालन गरिए पनि पहिरो खस्ने र सडक अवरुद्ध हुने क्रम रोकिएको छैन। निरन्तर ढुंगा खसिरहेकाले सडकमा नियमित यातायात सञ्चालन गराउन समस्या भइरहेको छ। दसैँको समयमा पहिरोले बाटो बन्द हुँदा सर्वसाधारण मारेमा परेका छन्।
मुग्लिन–नारायणगढ सडकको विकल्पमा तनहुँको खैरेनीटार हुँदै डेढगाउँ निस्कने मार्ग प्रयोग गर्न सकिन्छ। यो सडकलाई गण्डकी प्रदेश सरकारले गौरवको योजनाको रुपमा राखेको छ। मुस्ताङदेखि तराई जोड्ने गरी यो सडक प्रदेश सरकारले निर्माण गरिरहेको छ।
साना सवारीसाधनका लागि यो सडक उपयुक्त छ । त्यसका लागि दमौली–खैरेनीटारबाट बायाँतर्फबाट भीमाद–मानपुर हुँदै डेढगाउँ–वुलिङटार–ढोडेनी–गैँडाकोट पुग्न सकिने यो बाटो प्रयोग गरिसकेका प्रकाशचन्द्र भट्टराईले जानकारी दिए।
मुग्लिनदेखि खैरनीटारसम्म ७० किमि दूरी छ। खैरेनीटार–भीमाद कालोपत्र सडक सात किलोमिटर र भीमाद–मानपुर कच्ची सडक ३५ किलोमिटर छ। मानपुर–डेढगाउँ कालोपत्रे (४० किमि), डेढगाउँदेखि नारायणगढ ७० किमि रहेको छ।
मोटरसाइकल चालकले दमौलीबाट केशवटार सुखौरा हुस्लाङ धरमपानी हुँदै घुमाउने झोलुङ्गे पुल तरेर मुग्लिन–नारायण सडक खण्ड निस्किएर यात्रा गर्न सक्ने तनहुँको धरमपानीका स्थानीय विजय राना बताउँछन्। मुग्लिनको बाटो अवरुद्ध भएपछि केही मोटरसाइकल चालकले यही बाटो प्रयोग गरिरहेको उनको भनाइ छ।
तुइनखोला पहिरोका कारण वैकल्पिक बाटोबाट यातायात सञ्चालन गरिएको छ। त्रिभुवन राजपथ (नौबिसे–हेटांैडा), कान्ति राजमार्ग(सातदोबाटो– भैरव मन्दिर–बगुवा–लेनडाँडा–हेटौंडा) कालीगण्डकी कोरिडोरबाट छिरेर (गैंडाकोट–पाल्पा रामपुर–भीमाद–तनहुँ), धादिङ(फिर्केखोला–धादिङबेंसी–सल्यानटार)–गोर्खा (आरुघाट–आँबुखैरेनी), बुटवल–पोखरा वैकल्पिक सडक प्रयोग भइरहेको हो।