काठमाडौं। व्यवसायी चन्द्रप्रसाद ढकालको हाइड्रो सर्पोट कम्पनीले बैंकबाट अर्बौं रुपैयाँ कर्जा लिन लागेको छ। कम्पनीले मध्य कालीगण्डकी हाइड्रो पावर निर्माणका लागि बैंकबाट कर्जा लिन रेटिङ एजेन्सी इन्फोमेरिक्समा रेटिङ गराएको हो।
नेपाल राष्ट्र बैंकले ५० करोड रुपैयाँ बढी कर्जा लिन रेटिङ अनिवार्य गरेको छ। सोहीअनुसार हाइड्रो सपोर्टले रेटिङ गराउँदा इन्फोमेरिक्सले कम्पनीलाई ११ अर्ब ३६ करोड ४८ लाख रुपैयाँ कर्जा सीमा निर्धारण गरेको छ। यसमा ११ अर्ब १२ करोड ९८ लाख रुपैयाँ दीर्घकालीन कर्जामा ‘डबल बी माइनस’ पुनःपुष्टि गरिएको छ भने अल्पकालीन कर्जामा ‘ए फोर’ रेटिङ निर्धारण गरिएको छ।
डबल बी माइनसले कम्पनीको दीर्घकालीन कर्जा तिर्ने क्षमता मध्यम स्तरको रहेको संकेत गर्छ भने ए फोर रेटिङले अल्पकालीन कर्जा तिर्ने क्षमता पर्याप्त रहेको संकेत गर्छ। कम्पनीले उक्त सीमामा रहेर आवश्यकताअनुसार बैंकबाट कर्जा लिन सक्छ। कम्पनी हाल पाएको रेटिङमा रहेर ५ वर्षसम्मका लागि कर्जा लिन सक्छ।
उद्योग वाणिज्य महासंघ अध्यक्षसमेत रहेका ढकालले नेपालको सन् २००८ जनवरीमा हाइड्रो सपोर्ट स्थापना गरेर जलविद्युतमा प्रवेश गरेका हुन्। कम्पनीमा उनको २५ प्रतिशत सेयर स्वामित्व छ। उनी आइएमई ग्रुप र ग्लोबल आइएमई बैंकका अध्यक्षसमेत हुन्।
ढकालले हाइड्रोपावरमार्फत दोर्दी जलविद्युत् परियोजना र माउन्टेन एनर्जीमार्फत मिस्त्रीखोला जलविद्युत् परियोजना तथा तादीखोला जलविद्युत परियोजनामा समेत लगानी गरेका छन्।
सपोर्टले म्याग्दीको अन्नपूर्ण गाउँपालिकमा अवस्थित कालीगण्डकी नदीमा ६६.३० मेगावाट क्षमताको मध्य कालीगण्डकी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ। उक्त आयोजनामा ६ वटा बैंकले सहवित्तीय कर्जा लगानी गरेका छन्। नबिल, एभरेष्ट, नेपाल इन्भेस्टमेन्ट मेगा, नेपाल बैंक र प्रभु बैंकले कर्जा लगानी सम्झौता गत वर्ष नै गरेका थिए।
सम्झौताअनुसार नबिलले ३ अर्ब १२ करोड, एभरेस्ट र नेपाल इन्भेस्टमेन्ट मेगाले २/२ अर्ब र नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र प्रभुले १/१ अब अर्ब रुपैयाँ कर्जा लगानी गर्नेछन्। अहिले बढेको कर्जा सीमामा बैंकहरुले आपसी सहमति गरेर कर्जासमेत थप गर्नेछन्। परियोजना निर्माण अगाडि बढेसँगै कम्पनीले आवश्यक वित्तीय स्रोत जुटाउन लागेको हो।
हाइड्रो सपोर्ट सञ्चालक समितिमा ढकालसँगै गुरुप्रसाद ढकाल पनि छन्। उनी तीन दशक बढी समयदेखि नेपालको जलविद्युत् क्षेत्रमा संलग्न छन्। साथै, कम्पनीको प्रविधि प्रबन्धकमा मुन्ना शाक्य र महाप्रबन्धकमा अजितविक्रम कार्की छन्। उनीहरू दुवै जलविद्युत् क्षेत्रका अनुभवी हुन्।
हाइड्रो सपोर्टको लगानीमा निर्माणाधीन अवस्थामा रहेको मध्य कालीगण्डकी रन–अफ–रिभर परियोजना हो। यसको निर्माण कार्य सन् २०२५ को मध्य अगस्तसम्म करिब १० प्रतिशत सम्पन्न भइसकेको छ। यसले विद्युत् प्राधिकरण (एनइए) सँग विद्युत् खरिद सम्झौता (पीपीए) गरिसकेको छ, जसले परियोजनाबाट उत्पादित सबै विद्युत बिक्री सुनिश्चित गरेको छ। परियोजनाको कुल लागत १४ अर्ब ८४ करोड रुपैयाँ अनुमान गरिएको छ।
कम्पनीले ११ अर्ब रुपैयाँ बढी बैंकबाटै कर्जा लिएर परियोजना निर्माण गर्न लागेको हो। उक्त परियोजनामा लगानीकर्ताका तर्फबाट कुल लागतको २८ प्रतिशत लगानी भइसकेको छ। परियोजना निर्माणमा हालसम्म संरचना निर्माण र जग्गा अधिग्रहण अघि बढाइएको छ भने हाइड्रोमेकानिकल र प्रसारण कार्यको ठेक्का भने अझै दिइएको छैन।