काठमाडौं। भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले बिमा कम्पनीहरूमा करिब २३ अर्ब ३९ करोड २७ लाख रुपैयाँको बिमा दाबी परेको छ। बिमितहरुले बिमा कम्पनीहरुमा प्रारम्भिक क्षति मुल्यांकन गरी २३ अर्ब ३९ करोड २७ लाख रुपैयाँ बढीको २९ सय ८८ वटा बिमा दाबी गरेका हुन्।
भ्रष्टचार अन्त्य सहित विभिन्न माग राख्दै जेनजी आन्दोलनको क्रममा भएको तोडफोड र आगजनीले भौतिक संरचनामा भएको क्षतिको आधारमा सो दाबी परेको हो। नेपाल बिमा प्राधिकरणले निर्जीवन बिमा व्यवसायमा श्रृजित बिमा दाबीको असोज ८ गतेसम्मको प्रारम्भिक वितरण सार्वजनिक गरेको छ। जसमा सबैभन्दा बढी बिमा दाबी मोटर बिमामा २२ सय ९ वटा परेका छन्।
सम्पत्ति बिमामा ५ सय ९४ वटा, इन्जिनियरिङ तथा ठेक्का जोखिम बिमामा १ सय ४४ वटा, परिवहन बिमामा ११ वटा र अन्य बिमामा ३० वटा गरी कुल २९ सय ८८ वटा बिमा दाबी परेको छ। जसमा मोटर बिमामा ३ अर्ब ६५ करोड रुपैयाँ बढी, सम्पत्ति बिमा १९ अर्ब ३ करोड रुपैयाँ बढी, इन्जिनियरिङ तथा ठेक्का जोखिम बिमामा ३४ करोड ७२ लाख रुपैयाँ बढी, परिवहन बिमामा १ करोड ५५ लाख रुपैयाँ र अन्य बिमा ३४ करोड ६६ लाख रुपैयाँ बढीको बिमा दाबी परेको हो। आन्दोलनको क्रममा भएको क्षतिको दाबी भुक्तानी बिमा कम्पनीहरुले सम्पत्ति बिमा गराएका बिमितलाई ‘हुलदंगा जोखिम बिमा’ अन्तरर्गत दाबी भुक्तानी गर्नुपर्ने हुन्छ।
असहज परिस्थितिका कारण निर्जीवन बिमा व्यवसायमा सिर्जत बिमा दाबीको प्रारम्भिक विवरण बिमा कम्पनीहरुले नेपाल बिमा प्राधिकरणलाई उपलब्ध गराएका छन्। जसअनुसार असोज ८ गतेसम्म १४ वटा ठुला निर्जीवन बिमा कम्पनी र ४ वटा माइक्रो इन्स्योरेन्स कम्पनीमा गरी कुल २ हजार ४ सय ७८ वटा दाबी पर्ने देखिएको छ।
सम्पत्ति बिमामा ५ सय ९४ वटा, इन्जिनियरिङ तथा ठेक्का जोखिम बिमामा १ सय ४४ वटा, परिवहन बिमामा ११ वटा र अन्य बिमामा ३० वटा गरी कुल २९ सय ८८ वटा बिमा दाबी परेको छ।
जसमा सबैभन्दा बढी बागमती प्रदेशमा १८ अर्ब ४ करोड ३ लाख रुपैयाँ बराबरको १ हजार ६ सय ८ वटा बिमा दाबी परेको छ। साथै, उक्त अवधिमा कोशी प्रदेशमा २ अर्ब २ करोड ५० लाख रुपैयाँ बराबरको ३ सय ७७ वटा, गण्डकी प्रदेशमा १ अर्ब ७९ करोड ३४ लाख रुपैयाँ बराबरको २ सय १९ वटा, मधेस प्रदेशमा ६५ करोड ७१ लाख रुपैयाँ बराबरको ३ सय २३ वटा, लुम्बिनी प्रदेशमा ५२ करोड ८२ लाख रुपैयाँ बराबरको २ सय ५२ वटा, सुदुरपश्चिम प्रदेशमा २५ करोड ८७ लाख रुपैयाँ बराबरको १ सय ८२ वटा र ८ करोड ९८ लाख रुपैयाँ बराबरको २५ वटा बिमा दाबी परेको छ।
बिमा प्राधिकरणद्वारा सार्वजनिक बिमा दाबीको प्रारम्भिक विवरणअनुसार संख्याको आधारमा सबैभन्दा बढी शिखर इन्स्योरेसमा ३ सय ९७ वटा र दाबी रकमको आधारमा सबैभन्दा बढी सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा ५ अर्ब ४५ करोड, दोस्रोमा दि ओरिएन्टल इन्स्योरेन्स ५ अर्ब २३ करोड रुपैयाँ र तेस्रोमा आईजीआई प्रुडेन्सियलमा २ अर्ब ७९ करोड रुपैयाँ बिमा दाबी परेको छ। साथै, शिखर इन्स्योरेन्समा २ अर्ब ३९ करोड, सगरमाथा लुम्बिनीमा १ अर्ब ५७ करोड, हिमालयन एभरेष्टमा १ अर्ब २३ करोड र नेको इन्स्योरेन्समा १ अर्ब १२ करोड रुपैयाँ बढी दाबी परेको छ।
अर्ब रुपैयाँभन्दा कम बिमा दाबी पर्ने ४ वटा माइक्रो इन्स्योरेन्ससहित ११ वटा कम्पनी छन्। जसमा राष्ट्रिय बिमा कम्पनीको ९० करोड, सानिमा जिआइसीको ८४ करोड, युनाइटेड अजोडको ५३ करोड, एनएलजीको ५१ करोड, नेपाल इन्स्योरेन्सको ४८ करोड, प्रभु इन्स्योन्सको २० करोड र नेशनल इन्स्योरेन्सको ६ करोड रुपैयाँ बराबरको दाबी परेको छ। साथै, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सको १ करोड, स्टार माइक्रो इन्स्योरेन्सको ७२ लाख, ट्रस्ट माइक्रो इन्स्योरेन्समा ४४ लाख रुपैयाँ र नेपाल माइक्रोको ४१ लाख रुपैयाँ बढीको बिमा दाबी परेको छ।
जेनजी प्रर्दशनकारी सर्वोच्च अदालत, संसद् भवन र सिंहदरबारभित्रका मन्त्रालयसहित देशका महत्वपुर्ण सरकारी संरचनाहरूमा ठूलो क्षति पुर्याएका छन् भने निजी क्षेत्रका भाटभटेनी स्टोर, गाडीका शोरुम, होटल र एनसेल कार्यालय जस्ता व्यावसायिक प्रतिष्ठानहरूमा पनि व्यापक नोक्सानी भएको छ।