काठमाडौं। सरकारी स्वामित्वको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेवानि)ले आजदेखि छिमेकी चीनको ग्वाङ्जाओ सहरमा नियमित उडान गर्दै छ। निगमले काठमाडौंबाट सीधै ग्वाङ्जाओ सहरमा नियमित उडान गर्ने भएको हो।
काठमाडौं–ग्वाङ्जाओ–काठमाडौं उडान सातामा तीन वटा गर्ने गरी तालिका बनेको निगम प्रवक्ता मनोज साहले बताए।
निगमले काठमाडौं–ग्वाङ्जाओ उडानको भाडादर एकतर्फी ३० हजार र दुईतर्फी ५० हजार रुपैयाँ तोकेको छ। निगमको चीन उडान राती १० बजेर १५ हुने र भोलिपल्ट बिहान फर्किनेछ । निगमले पहिलो उडान असोज ९ र दोस्रो असोज १२ गते गर्दै छ। त्यसपछि असोज ३० र कात्तिक २ र ६ मा उडाने भर्नेछ।
त्यसपछि निगमले हरेक आइतबार, मंगलबार र शनिबार ग्वाङ्जाओ उडान तालिका बनाएको छ। निगमले काठमाडौंबाट कोरिया र अष्ट्रेलिया सीधै उडान तयारी भए पनि ती गन्तव्यका लागि अनुमति पाइसकेको छैन।
हाल वायुसेवा निगमसँग भएको अन्तर्राष्ट्रिय उडानका २ वटा न्यारोबडी र दुईटा वाइडबडी जहाजबाट कतारको दोहा, मलेसियाको क्वालालम्पुर, यूएईको दुबई, हङकङ, भारतको दिल्ली, मुम्बई, बैङ्लोर, थाइल्यान्डको बैंकक, साउदी अरबको दमाम र जापानको नारिता उडान गर्दै आएको छ।