काठमाडौं। लक्ष्मी सनराइज बैंक अगुवाइमा सहवित्तीयकरणमा सहभागी बैंक र दूधकोसी हाइड्रोपावर नेपाल प्रालिबीच ७० मेगावाट क्षमताको अर्धजलाशय दूधकोसी–२ (जलेश्वर) जलविद्युत् आयोजनामा लगानी सम्झौता भएको छ।
सोलुमा अवस्थित दूधकोसी नदीमा निर्माण गरिने आयोजनाको कुल लागत १५ अर्ब रुपैयाँ छ।
दूधकोसी–२ (जलेश्वर) जलविद्युत आयोजनाले २०७७ असोज ७ मा विद्युत् विकास विभागबाट विद्युत् उत्पादन अनुमति लिनुका साथै २०७८ मंसिर ६ मा विद्युत् प्राधिकरणसँग विद्युत् खरिद बिक्री सम्झौता समेत गरिसकेको छ।
परियोजना निमार्णका लागि लक्ष्मी सनराइज बैंकको नेतृत्वमा सहवित्तीयकरणमा सहभागी बैंकले परियोजना लागतको ७० प्रतिशत लगानी गर्नेछन् भने बाँकी ३० प्रतिशत रकम कम्पनीका संस्थापकबाट लगानी हुनेछ।
सहवित्तीयकरणमा एभरेष्ट बैंक सह–अगुवा र सानिमा सदस्य बैंकको रुपमा रहेका छन् भने कुल प्रोजेक्ट फाइनान्स १० अर्ब ५० करोड रहनेछ।
आयोजना जुलाई २०२९ भित्र निर्माण सम्पन्न भई विद्युत् उत्पादन भएपछि वार्षिक करिब ४१७ गिगावाट आवर इनर्जी विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जडान हुनुका साथै देशकै ठूलो ऊर्जा उत्पादकमध्येमा पर्नेछ।
कम्पनीको मुख्य प्रवर्द्धकका रुपमा आयु मलुन हाइड्रोपावर, कदम केसी, किरण मल्ल, अभिज्ञा मल्ल, विक्रम गौतम, विकास गौतम, अरुण अग्रवाल, नरेन्द्र गुप्ता, डा. हिमाल भट्टराई तथा विभिन्न प्राइभेट इक्विटी भेन्चर क्यापिटल रहेका छन्।