काठमाडौं। पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट नजिकै बाँदरेमोडमा पहिरो खसेर बुधबार बेलुकीदेखि अवरुद्ध सडक आज बिहानदेखि खुलेको छ।
राती पौने ९ बजे पहिरो खसेर सडक दुईतर्फी बन्द रहेकोमा रातभर काम गरेर आज बिहानदेखि खुलाइएको धादिङ प्रहरीले जनाएको छ।
अहिले दुईतर्फी नै गाडी चलिरहे पनि पहिरोको जोखिम कायमै रहेकाले सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ। धादिङकै धार्के–सितापाइला सडक खण्डअन्तर्गत ठूलोखोलामा पनि पहिरोका कारण सडक अवरुद्ध भएको छ।
मुग्लिन–नारायणगढ सडक खण्डअन्तर्गत तुइन खोलामा मंगलबारदेखि बन्द सडक अझै खुलेको छैन। बुधबारदेखि पहिरो पन्छाउने काम भइरहेकाले सम्भवतः आज बेलुकीबाट सवारीसाधन सञ्चालन हुन सक्ने चितवन प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार आज पनि पहिरो पन्छाउने काम भइरहेको छ। मुग्लिनबाट झन्डै साढे दुई किलोमिटरमा पर्ने तुइन खोलामा पटक–पटक पहिरो खस्दा यात्रुले सास्ती खेप्दै आएका छन्। सडक खुलाउन समय लाग्ने र खुले पनि जोखिम कायमै रहने भएकाले वैकल्पिक सडक प्रयोग गर्न चितवन प्रहरीले आग्रह गर्दै आएको छ।
यो सडक खण्डको विकल्पमा महोत्तरीको बर्दिवास, मकवानपुरको हेटौंडा, रुपन्देहीको बुटवल, नवलपरासी बर्दघाट सुस्ता पूर्वको कावासोती र गैंडाकोट, धादिङको नौबिसे तथा तनहुँको हकमा खैरेनीटारबाट वैकल्पिक मार्ग प्रयोग गर्न सकिनेछ।
चितवनबाट काठमाडौं आउजाउ गर्न साना गाडीले चितवनको जुटपानी, शक्तिखोर, मायाटार हुँदै धादिङको मलेखु निस्कने वैकल्पिक सडक प्रयोग गर्न सक्छन्।
त्यस्तै, धादिङको नौबिसेबाट मकवानपुरको हेटौंडा निस्कने त्रिभुवन राजपथ तथा मकवानपुरको हेटौंडाबाट भैंसे, भीमफेदी, कुलेखानी, सिस्नेरी हुँदै दक्षिणकालीको बाटो भएर काठमाडाैं पुग्न सकिन्छ। हेटौंडा–काठमाडौं आउजाउका लागि ठूलो गाडीले कान्ति लोकपथ प्रयोग गर्न सक्नेछन्।