काठमाडौं। भदौ २३ र २४ को जेनजी आन्दोलनले निर्वाचित सरकार अपदस्थ भएसँगै पार्टीभित्र एकछत्र राज चलाइरहेका कांग्रेस, एमाले, नेकपा माओवादी केन्द्रका वृद्ध अध्यक्षमाथि पनि पद छाड्न दबाब परिरहेको छ। 
नेपालको राजनीति र सत्ता तीनै पार्टीका बूढा नेताहरुको वरिपरि घुमिरहँदा जेनजी पुस्ताले गरेको भ्रष्टाचारविरुद्ध आन्दोलनले यतिबेला उनीहरु किनाराकृत भएका छन्।
सार्वजनिक मञ्चमा छैनन्। कांग्रेसमा देउवा र एमालेमा ओलीलाई पदत्याग गरेर नयाँ पुस्तालाई हस्तान्तरण गर्न दबाब परेको छ। यद्यपि अहिलेसम्म ओली र देउवाले पदत्याग गर्ने संकेत छैन।
तर, पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले जेनजी आन्दोलनलाई आत्मसात् गर्दै पार्टी अध्यक्ष पद त्यागेको घोषणा गरेर ओलीहरुलाई पनि विश्राम लिन सबक सिकाएका छन्।
नेसपा उपाध्यक्ष दुर्गा सोबको अध्यक्षतामा महाधिवेशन आयोजक समिति बनाउने निर्णय भएको छ। महाधिवेशनसम्म उपाध्यक्ष सोबलाई संयोजक र महासचिव सोनामसिंह स्याङ्तानलाई सदस्य सचिव तथा पार्टी प्रवक्तामा कृष्ण शर्मालाई तोकिएको छ। 
के गर्लान् दाहाल?
नेकपा  माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पदत्यागको घोषणा नगरे पनि आजदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै आफू पदलोलुप नभएको घोषणा गरेका छन्।
दाहालले वर्तमान केन्द्रीय समिति विघटन गरेर विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्वका  लागि आफ्नै संयोजकत्वमा समिति गठन हुने प्रस्ताव अगाडि सारेका छन्। नेकपा माओवादी केन्द्रभित्र पनि दाहाललाई पद छाड्न दबाब परेको यसबाट पनि पुष्टि हुन्छ। दाहालले भने, ‘आज जे देखिँदै छ, त्यसलाई शब्दले बयान गर्न पनि गाह्रो भइरहेको छ। यस्तो अवस्थामा  विशेष महाधिवेशनसम्म जानुपर्ने देखिएको छ।’
नेतृत्व हस्तान्तरणबारे निरन्तर छलफल हुँदै आएको र आफू जबर्जस्ती पदमा टाँसिने मान्छे नभएको दाबी दाहालले गरेका छन्। उनका अनुसार जेनजी आन्दोलनपछि शीर्ष नेताहरूले पनि नेतृत्व हस्तान्तरणबारे प्रश्न उठाइरहेका छन्। यद्यपि दाहालले प्रक्रियागत रुपमा नेतृत्व हस्तान्तरण हुनुपर्ने बताइरहेका छन्।