काठमाडौं। बडादसैंको पाँचौं दिन शुक्रबार बिहानसम्म करिब २ लाखले काठमाडौं उपत्यका छाडेको उपत्यका ट्राफिक प्रहरीले जनाएको छ। घटस्थापनादेखि शुक्रबार बिहान ६ बजेसम्म १ लाख ९५ हजार २०२ जनाले काठमाडौं छाडेर दसैं मनाउन घरगाउँ फर्किएका हुन्।
यीमध्ये पछिल्लो २४ घन्टामा मात्रै ५६ हजार ९०६ जना काठमाडौंबाट बाहिरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दीपक गिरीले बताए। घटस्थापनाका दिन ४३ हजार मानिस काठमाडौंबाट बाहिरिएका थिए।
प्रवक्ता गिरीका अनुसार काठमाडौंका विभिन्न नाका हुँदै सर्वसाधारण दसैं मनाउन आफ्ना थातथलो फर्किएका हुन्। प्रहरीले अनिवार्य टिकट काटेर बसमा यात्रा गर्न नागरिकलाई आग्रह गरिरहेको उनको भनाइ छ। ‘यात्रुलाई टिकट काटेर मात्र यात्रा गर्न आग्रह गरिएको छ। यदि तोकिएको मूल्यभन्दा धेरै बढी भाडा लिए प्रहरीलाई खबर गर्न आग्रह गरेका छौं।’
यात्रुलाई सहजीकरण र गाडी अनुगमन गर्न ट्राफिकले उपत्यकाका विभिन्न १४ स्थानमा हेल्पडेस्क सञ्चालनमा ल्याएको पनि उनले बताए। काठमाडौंको नयाँ बसपार्क, कलंकी, थानकोट नाकालगायत स्थानमा हेल्पडेस्क राखिएको छ।
बढी भाडा लिए, क्षमताभन्दा धेरै यात्रु राखे, लामो दूरीको गाडीमा २ जना चालक नराखिएको गुनासो डेस्कमा खबर यात्रुलाई आग्रह गरिएको गिरीले बताए। यसका साथै, १०३ र १०० मा फोन गरेर पनि जानकारी लिन सकिनेछ। सडकमा रहेका ट्राफिक प्रहरी र अन्य प्रहरीलाई पनि यात्रु गुनासो टिपाउन भनिएको उनले जनाए।
दसैंका मनाउन २५ लाखले काठमाडौं छाड्ने प्रहरी अनुमान छ। तर, विभिन्न स्थानमा पानी परिरहेकाले सडक अवस्था सहज छैन। यसले पनि यात्रु संख्या घट्न सक्ने गिरी सुनाउँछन्।