काठमाडौं। लगानीकर्तामा उत्साह बढाउँदै सिटिजन्स बैंकले लाभांश घोषणा गरेको छ। बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई कुल ५.२६ प्रतिशत लाभांश वितरण गर्ने भएको हो।
गत भदौ २३ र २४ कोे जेनजी प्रदर्शनपछि लगानीकर्तामा निराशा छ। यस्तो अवस्थामा केही उत्साह बढाउन भए पनि सिटिजन्स बैंकको शुक्रबारको सञ्चालक समिति बैठकले लाभांश वितरण प्रस्ताव गरेको हो।
बैंकले चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२६ प्रतिशत नगद लाभांश वितरण घोषणा गरेको हो। हाल बैंकको चुक्ता पुँजी १४ अर्ब ७६ करोड ९० लाख रुपैयाँ कायम छ। बैंकद्वारा प्रस्तावित लाभांश राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएमा बैंकको आगामी साधारणसभाले पारित गरेर लगानीकर्ताको खातामा जम्मा हुनेछ।
बैंकले विगतदेखि नै लगानीकर्ताको हात खाली राखेको छैन। विगत १० वर्षयता बैंकद्वारा वितरण गरिएको लाभांश तथ्यांक हेर्दा बैंकले लगानीकर्ता उत्कृष्ट लाभांश वितरण गरिरहेको छ।

२०६४ वैशाख ७ बाट कारोबार सञ्चालन गरी विगत १९ वर्षदेखि वित्तीय सेवा दिँदै आएको प्रदान गर्दै आइरहेको यस सिटिजन्स बैंकले सर्वसाधारणलाई सेयर जारी गरेको आर्थिक वर्ष २०६५/६६ देखि नै सेयरधनीलाई निरन्तर लाभांश वितरण गर्न सफल भएको छ।
आर्थिक वर्ष २०६५ र ६६ देखि आर्थिक वर्ष २०८१/८२ सम्मको औषत लाभांश दर ११.८७ प्रतिशत छ भने प्रस्तावित लाभांशसहित पछिल्लो १० वर्षको औषत लाभांश दर १०.५२ प्रतिशत रहेको छ।
विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द इयर २०२४ को उपाधि प्राप्त बैंकले केही समयअघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक सिटिजन्स फोनपे क्रेडिट कार्ड र भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ।
फ्रिलान्सरलाई लक्षित गरी विशेष ‘फ्रिलान्सर सेविज अकाउन्ट’ नामक नयाँ उत्पादन सुरु गरेको छ। नेपालमै पहिलोपटक मोबाइल बैंकिङ एपमार्फत सेयर आवेदन र सीआरएन नम्बर लिन सकिने सुविधा, कस बैंक टेलर सेवा, ग्राहकले बैंक शाखाबाट टेलर क्यूआर स्क्यान गरी नगद प्राप्त गर्न सकिनेलगायत सुविधासमेत ल्याएको छ ।
बैंकले देशैभर ६१ जिल्लामा फैलिएका २०० वटा शाखा, १६९ वटा एटीएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखारहित इकाइ ग्राहकलाई आधुनिक बैंकिङ सेवा दिँदै आएको छ।