काठमाडौं। नेपाल बिमा प्राधिकरणले बिमा कम्पनीले चालू वर्षको साउन र भदौमा संकलित बिमा शुल्कको तथ्यांक सार्वजनिक गरेको छ। तथ्यांकअनुसार बिमा कम्पनीले दुई महिनामा ४४ अर्ब २८ करोड रुपैयाँ बढीको व्यवसाय गरेका छन्। चालू वर्षको भदौसम्म निर्जीवन बिमा कम्पनीले ८ अर्ब २९ करोड र जीवन बिमा कम्पनीले ३५ अर्ब ९९ करोड रुपैयाँ बढीको व्यवसाय गरेका हुन्।
उक्त अवधिमा १४ वटा जीवन बिमा कम्पनी र ३ वाटा लघु बिमा कम्पनीले ३५ अर्ब ९९ करोड ८८ हजार रुपैयाँ बराबरको बिमा शुल्क संकलन गरेका छन् भने १४ वाट निर्जीवन बिमा कम्पनी र ४ वटा माइक्रो इन्स्योरेन्सले ८ अर्ब २९ करोड ३२ लाख १३ हजार बिमा शुल्क संकलन गरेका हुन्।
जीवन बिमातर्फ उक्त अवधिमा सबैभन्दा बढी बिमा शुल्क संकलन गर्नेको पहिलो नम्बरमा नेपाल लाइफ ९ अर्ब ६८ करोड, दोस्रोमा राष्ट्रिय बिमा कम्पनी ४ अर्ब ८ करोड र तेस्रोमा नेसनल लाइफ इन्स्योरेन्सले ३ अर्ब ९८ करोड र सूर्य ज्योति लाइफले २ अर्ब १ करोड रुपैयाँ बढी बिमा शुल्क संकलन गरेका छन्।
साथै, उक्त अवधिमा लाइफ इन्स्योरेन्स कर्पोरेसनले ३ अर्ब ३९ करोड, हिमालयन लाइफले ३ अर्ब १७ करोड सिटिजन्स लाइफले १ अर्ब ५० करोड, सानिमा लाइफले १ अर्ब २० करोड, एसियन लाइफले १ अर्ब ४८ करोड, मेटलाइफले १ अर्ब ५ करोड र आइएमई लाइफले १ अर्ब ८ करोड बिमाशुल्क संकलन गरेका हुन्। उक्त अवधिमा सन नेपाल र प्रभु लाइफको बिमा शुल्क संकलन अर्बभन्दा कम छ।
यस्तै, लघु जीवन बिमाले २ महिनामा १५ करोड ६४ लाख रुपैयाँ बढीको बिमा शुल्क संकलन गरेका छन्। गार्डियनले ५ करोड ६३ लाख, क्रेस्टले ५ करोड ६३ लाख रुपैयाँ र लिबर्टी माइक्रो लाइफले ४ करोड ३८ लाख रुपैयाँ बिमा शुल्क संकलन गरेको छ।
निर्जीवन बिमा व्यवसाय
चालू वर्षको पहिलो २ महिनामा सबैभन्दा बढी बिमा शुल्क आर्जनमा गर्ने निर्जीवन बिमा कम्पनीमा सगरमाथा लुम्बिनी इन्योरेन्स पहिलो नम्बरमा छ। कम्पनीले साउन र भदौमा ८९ करोड ४४ लाख रुपैयाँ बिमा शुल्क संकलन गरेको हो।
उक्त अवधिमा शिखर इन्स्योरेन्सले ८४ करोड ८२ लाख रुपैयाँ बिमा शुल्क संकलन गरेर दोस्रो नम्बरमा सिद्धार्थ प्रिमियले ७७ करोड ३३ लाख, हिमालयन एभरेष्ट इन्स्योरेन्सले ७१ करोड १७ लाख रुपैयाँ बिमा शुल्क संकलन गरेको छ।
उक्त अवधिमा दि–ओरिएन्टलले ५९ करोड ५० लाख, एनएलजीले ६८ करोड ७५ लाख, आइजीआई प्रुडेन्सियलले ६२ करोड ९१ लाख, युनाइटेड अजोडले ५७ करोड ४८ लाख र नेको इन्स्योरेन्सले ५८ करोड १ लाख रुपैयाँ बिमा शुल्क संकलन गरेको छ।
बाँकी निर्जीवन बिमा कम्पनीले ५० करोड रुपैयाँभन्दा तल बिमा शुल्क संकलन गरेका छन्। साथै, उक्त अवधिमा ४ वटा निजीवन माइक्रो इन्स्योरेन्सले कुल १६ करोड ५० लाख रुपैयाँ बिमा शुल्क संकलन गरेका छन्।