काठमाडौं। गत भदौ २३ र २४ को जेनजी प्रदर्शनले बैंक तथा वित्तीय संस्थाको अबौं रुपैयाँ कर्जा जोखिममा परेको छ। बैंकबाट ऋण लिएर व्यापार व्यवसाय गरेका निजी व्यावसायिक प्रतिष्ठानमा तोडफोड तथा आगजनि हुँदा बैंकको ३५ अर्ब रुपैयाँ जोखिममा परेको हो।
जेनजी आन्दोलनकारीले निजी तथा सार्वजनिक सम्पत्तिमा आगजनी तोडफोड गर्दा करिब १ खर्ब रुपैयाँ क्षति अनुमान विभिन्न निकायले गरिरहेका छन्। यसमा बैंकबाट ऋण लिएर व्यवसाय सञ्चालन गरेकामध्ये ३५ अर्ब रुपैयाँ क्षति भएको राष्ट्र बैंकको अनुमान छ।
‘प्रदर्शनका क्रममा आजगनी र तोडफोडबाट करिब १ अर्ब क्षति भएको प्रारम्भिक तथ्यांक छ। त्यसमा बैंकबाट कर्जा लिएर व्यवसाय सञ्चालन गर्नेमा प्रदर्शनमा करिब ३५ अर्ब रुपैयाँ क्षति भएको देखिन्छ,’ राष्ट्र बैंकका एक अधिकारीले क्यापिटल नेपाललाई भने।
उनका अनुसार जेनजी प्रदर्शनले प्रभावित बैंकका ऋणी व्यवसायीमध्ये करिब ३० अर्ब रुपैयाँ बिमाले कभर गर्ने देखिएको छ भने बाँकी १० अर्बको भने बिमा नभएको प्रारम्भिक अध्ययनले देखाएको छ। राष्ट्र बैंकले जेनजी प्रदर्शन प्रभावितलाई पहिलो चरणमा मुख्य ५ वटा राहतको प्याकेज ल्याउन लागेको छ।
यसमा बैंकको साँवा ब्याज तिर्ने समय थप गर्ने, सवारी कर्जाको सीमा बढाउने, प्रिमियम घटाउने, सहुलियत दरमा कर्जा उपलब्ध गराउनेलगायत छन्।
जेनजी प्रदर्शनकारी सर्वोच्च अदालत, संसद् भवन र सिंहदरबारभित्रका मन्त्रालयसहित देशका महत्त्वपूर्ण सरकारी संरचनामा ठूलो क्षति पुर्याएका छन्। निजी क्षेत्रका भाटभटेनी स्टोर, गाडीका शोरुम, होटल र एनसेल कार्यालय जस्ता व्यावसायिक प्रतिष्ठानमा पनि व्यापक नोक्सानी भएको छ।
आन्दोलनमा सार्वजनिक र निजी दुवै क्षेत्रका सम्पत्तिमा आगजनी र तोडफोड गरी ठूलो क्षति पुगेको थियो। सोही क्षतिलाई पुनरुत्थान गर्न राष्ट्र बैंकले सरकारको सुझावअनुसार शुक्रबार वा आइतबारसम्म राहतको प्याकेज ल्याउने स्रोत बताउँछ।