काठमाडाैं। नेपालकै प्रमुख पर्यटन क्षेत्र ठमेल असोज, कात्तिकमा विदेशी पर्यटकले खचाखच हुने ठाउँ हो। होटलदेखि ट्राभल एजेन्सी, स्मरणिका पसलदेखि सवारी व्यवसायसम्म सबै चम्किने ‘गोल्डेन सिजन’ मानिन्छ। तर, यसपटक वर्ल्ड टुरिज्म डे (सेप्टेम्बर २७) को दिनमै ठमेलको रौनक अलि फिका देखियो।
-1758943971.jpg)
२६ वर्षदेखि ट्राभल एजेन्सी चलाउँदै आएका ४५ वर्षीय मदन अधिकारी भन्छन्, ‘२०२५ मा सुरुवाती बुकिङ राम्रै थियो तर, जेनजी आन्दोलनपछि २५ प्रतिशत घट्यो। युरोपबाट अझै ग्राहक आउँछन्, भारत–चीनबाट पनि चाख छ। तर, राजनीतिक अस्थिरता र सुरक्षा समस्याले असर ठूलो पारेको छ।’
-1758943994.jpg)
उनका अनुसार अहिले मनास्लु, एभरेस्ट र लाङटाङ लोकप्रिय गन्तव्य बनेका छन्। ‘पहिला अन्नपूर्ण बेस क्याम्प हिट थियो, तर सडकले आकर्षण कम गर्यो’, उनी थप्छन्।
-1758944032.jpg)
चार दशकदेखि ठमेलमा स्मरणिका पसल चलाइरहेका ६५ वर्षीय बैकुण्ठ पाण्डे झनै चिन्तित छन्। ‘सेप्टेम्बर, अक्टोबर, नोभेम्बर हाम्रो पिक सिजन हो। तर यो पटक ४५ जना समूह बुकिङ गरेर आएको थियो। आन्दोलनकै कारण क्यान्सिल भयो। दिनको पाँच हजार नाफा हुने बेला अहिले चार सय–आठ सयमा अड्किएको छ’, उनी भन्छन्।
युरोपेली पर्यटक अझै आउने भए पनि “नेपाल असुरक्षित छ” भन्ने समाचारले आगमन घटाएको पाण्डेको अनुभव छ। उनी भावुक हुँदै भन्छन्,‘नेपाल हिमाल, संस्कृति, सभ्यताको स्वर्ग हो। तर, नेताहरूको खेलले यसलाई नर्कझैँ बनाइराखेको छ।’
-1758944073.jpg)
यही कुरा ठमेलका अन्य व्यापारीले पनि दोहोर्याएका छन्। विदेशी पर्यटक अझै नेपालप्रति आकर्षित भए पनि प्रतिस्पर्धा कडा छ, खर्च कम छ, र ‘बार्गेनिङ’ बढी गर्छन्। उता, ठमेलमा रातमा निस्कनै डर लाग्छ भन्ने स्थानीय अनुभवले सुरक्षाको वास्तविकता देखाउँछ।
-1758944107.jpg)
भीक माग्ने, दलालले पर्यटक भुल्याउने, बार–पबसँग जोडिएका अवैध क्रियाकलाप, कहिलेकाहीँ ड्रिंकमा केही मिसाएर लुटपाट हुने घटना-यी कुरा खुलेर सार्वजनिक नभए पनि ‘ठमेल सुरक्षित छैन’ भन्ने महसुस सबैलाई हुन्छ।
सरकारको निष्क्रियता नै सबैभन्दा ठूलो गुनासो बनेको छ। ‘सरकारले पर्यटनको महत्व बुझ्दैन। यत्रो होटल, राम्रो खाना, राम्रो सुविधा छ, तर प्रचार गर्न सक्दैन’, पाण्डे भन्छन्, ‘सडक, भिसा, पूर्वाधार सहज बनाउन सके अन्तर्राष्ट्रिय बजारमा नेपाल बलियोसँग उभिन्थ्यो।’
-1758944144.jpg)
आज पनि ठमेल रंगीन छ-लाइभ म्युजिक, स्ट्रिट फुडको गन्ध, पर्यटक तान्ने स्वरले। तर, भित्रतिर व्यापारी र व्यवसायीको चिन्ता बाक्लिँदै गएको छ।
‘बत्ती बल्छ‘, उनीहरू भन्छन्, ‘तर छाया अझै बाक्लो छ।’