काठमाडौं। हालैको जेनजी आन्दोलनका क्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र यसका मातहतका निकायका ६० वटा सवारीसाधनमा आगजनी गरिएको छ।
मन्त्रालयले सार्वजनिक गरेको प्रारम्भिक प्रतिवेदन अनुसार सडक विभाग, मन्त्रालय परिसर, मन्त्री निवास र यातायात व्यवस्था विभागमा रहेका सवारीसाधनहरूमा आगो लगाइएको थियो। आगलागीबाट अधिकांश सवारीसाधन पूर्ण रूपमा नष्ट भएका छन्।
मुख्य क्षतिका विवरण:
- ६० वटा सवारीसाधन जलाइयो (जसमध्ये २६ वटा दुई पाङ्ग्रे सवारी)
- २ वटा सवारीसाधन बेपत्ता
- निजी स्कुटर र अन्य सवारीसाधन पनि जलाइयो
भवन र सम्पत्तिमा क्षति:
कर्मचारी प्रशासन शाखामा कम्प्युटर, प्रिन्टर, टेबुल, कुर्सी, सोफासेट, पंखा र कोठाका झ्यालहरू क्षतिग्रस्त भएका छन्। यातायात व्यवस्था शाखाको शौचालयका झ्यालहरू फुटाइएका छन्।
चालक आराम कक्षमा पानीको भाँडोदेखि गलैँचासम्म सबै सामग्री नष्ट गरिएको छ। यसैगरी, सचिव बैठक कोठाका झ्याल, मूल ढोका, टहरो, ह्वाइट बोर्ड, सोफा, टेबुलसहित दर्जनौं वस्तुहरू चोरी र नष्ट गरिएको मन्त्रालयको प्रारम्भिक अध्ययनले देखाएको छ।
मन्त्रालयले क्षतिको विस्तृत मूल्याङ्कन जारी राखेको जनाएको छ।