काठमाडौं। ‘जेनजी’ आन्दोलनका क्रममा आगजनीमा परेको मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार पुनःनिर्माणका लागि बागलुङ कलाकार समाज, नेपालले आर्थिक सहयोग अभियान सुरु गरेको छ।
समाजले असोज ६ गते काठमाडौंमा आयोजना गरेको दसैं, तिहार, छठलगायत पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा उक्त अभियानको घोषणा गरिएको हो। पुनःनिर्माण कोषमा संस्थाकोतर्फबाट ५० हजार राखेर अभियान सुरुआत गरिएको समाजका अध्यक्ष लोकगायक वसन्त थापाले बताए।
‘अहिलेसम्म झण्डै डेढ लाख संकलन भइसकेको छ,’ उनले भने, ‘धेरै रकम सहयोग गर्न नसके पनि देशलाई अप्ठ्यारो परेका बेला सन्देश दिन खोजिएको हो।’ तिहारसम्म अभियान सञ्चालन हुने र त्यसपछि सरकारको कोषमा रकम जम्मा गरिने अध्यक्ष थापाले बताए।
सुरुमा समाजका तर्फबाट मात्र केही रकम दिने भनिएकामा पछि देश विदेशमा रहेका कलाकारलगायत अन्य शुभेच्छुकले सहयोगको इच्छा देखाएपछि अभियान अगाडि बढाइएको हो। अध्यक्ष थापाले सरकारले सुरु गरेको पुनःनिर्माण कार्यमा सहयोगको भावना जागृत गराई अरु सङ्घसंस्थालाई पनि त्यसतर्फ प्रेरित गर्न सन्देशमूलक ढङ्गले यो अभियान सुरु गरिएको बताए।
सरकारले केही दिनअघि ‘जेनजी’ आन्दोलनका क्रममा क्षति भएका सार्वजनिक तथा सरकारी भौतिक संरचनाको पुनःनिर्माण, मर्मत, आर्थिक पुनरुत्थान र राहत कार्यमा लागि भौतिक पूर्वाधार पुनःनिर्माण कोषमा योगदान गर्न सबैमा आह्वान गरेको थियो।