मौसम खुलेको छ। माछापुच्छ्रे मुस्कुराइरहेको छ तर पर्यटकीय शहर पोखरा भने सुनसान छ। तालतलैया, हिमशृङ्खला र प्राकृतिक सुन्दरताले भरिपूर्ण पोखरा यस सिजनमा सामान्यतया पर्यटकले भरिभराउ हुने समय हो। तर पछिल्लो जेन–जी आन्दोलनको प्रभावले अहिले पोखरा सुनसान भएको छ। माछापुच्छ्रे हिमाल मुस्कुराइरहेको देखिए पनि पोखराका पर्यटन व्यवसायीहरूको मन भने खुल्न सकेको छैन। विदेशी मात्र होइन, स्वदेशी पर्यटकसमेत पोखरा भित्रिन नसक्दा सहरको सुन्दरता नै उजाडिएको जस्तो भान भएको छ।
जेन–जी आन्दोलन—विशेषगरी विभिन्न राजनीतिक र सामाजिक माग राखेर युवा वर्गले चलाएको विरोध प्रदर्शनसँगै निम्तिएको अकल्पनीय जनधनको क्षतिको प्रभाव पोखरामासमेत परेको छ। लेकसाइडका केही नाम चलेका ठूला होटलमा आगजनी भयो। असुरक्षाका कारण आन्तरिक तथा बाह्य पर्यटक दुवैको आगमनमा सुस्ती आउँदा पर्यटन क्षेत्रमा ठूलो लगानी गरेका व्यवसायी चिन्तित बनेका छन्।
होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीका अनुसार, हालको आन्दोलन र प्राकृतिक विपत्तिले पोखराको पर्यटन क्षेत्रमा अकल्पनीय क्षति पुर्याएको छ। उहाँ भन्नुहुन्छ, “अहिले पर्यटकीय मौसम हो। सामान्यतया यस सिजनमा ७० देखि ८० प्रतिशतसम्म हुने होटल अकुपेन्सी अहिले घटेर १४ देखि २० प्रतिशतमा मात्र सीमित भएको छ। राजमार्गमा आएका पहिरोले पनि पर्यटकलाई पोखरा आउन वाधा पुर्याएको छ। सेप्टेम्बर महिनामा मात्र करिब ५० प्रतिशत होटल बुकिङ रद्द भएका छन्।”
सुवेदी थप भन्नुहुन्छ, “पोखरा पर्यटकका लागि प्रमुख गन्तव्य हो। तर जनयुद्ध, २०६२–६३ को आन्दोलन, २०७२ को भूकम्प, कोभिड–१९ महामारी जस्ता चुनौती पार गरेर बिस्तारै गतिमा फर्किएको यो क्षेत्रमा फेरि अहिलेको आन्दोलनले ठूलो असर पारेको छ।”
सुवेदीका अनुसार हालसम्मको प्रारम्भिक अनुमानले पोखराका ठूला ६ वटा होटलसहित मध्यम र साना स्तरका होटल, रेष्टुरेन्ट, ट्राभल एजेन्सी तथा पर्यटनसँग प्रत्यक्ष–अप्रत्यक्ष रूपमा जोडिएका व्यवसायमा सामान्यदेखि ठूलो असर परेको छ। करिब साढे दुई अर्ब रुपैयाँ बराबरको क्षति भएको छ। पोखराको पर्यटन क्षेत्रमा करिब ८ खर्ब रुपैयाँ बराबरको लगानी भएको छ, जसमा ६ खर्ब रुपैयाँ होटल व्यवसायमै लगानी छ। पोखराको पर्यटन क्षेत्रमा प्रत्यक्ष रूपमा मात्रै करिब १४ हजार मानिस रोजगारीमा आश्रित छन्। पोखरामा पर्यटकीय स्तरका करिब १,२०० होटल सञ्चालनमा छन्, जसमा ७०० वटा लेकसाइड र ड्यामसाइड क्षेत्रमा केन्द्रित छन्।
उहाँले सरकारसँग व्यवसायीहरूको तर्फबाट राखिएका मागबारे जानकारी दिनुभयो: “क्षति भएको व्यवसायको बीमा दाबी ढिलासुस्ती नगरी सहजै रुपमा क्षतिपूर्तिको प्रक्रिया सुरु गर्नुपर्छ। साथै व्यवसायीले तिर्नुपर्ने बैंक किस्ता तिर्ने समयावधि एक वर्ष थप गर्नुपर्छ भन्ने माग हामीले राष्ट्र बैंकका गर्भनर र अर्थमन्त्रीलाई भेटेर राखेका छौं। मौद्रिक नीतिमा केही हदसम्म हाम्रो माग सम्बोधन गर्ने प्रतिबद्धता भएको छ। सरकारले पनि क्षति भोगेका व्यवसायीका लागि केही राहत प्याकेज ल्याएको जानकारी पाएका छौं।”
पोखराले वर्षौंदेखि आन्तरिक तथा अन्तर्राष्ट्रिय बजारमा शान्त र सुन्दर पर्यटकीय गन्तव्यको रूपमा आफ्नो पहिचान बनाएको छ। तर निरन्तर आन्दोलन र त्यसले सिर्जना गरेको अस्थिरताको समाचार अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा फैलिँदा पोखराको अन्तर्राष्ट्रिय छविमानै असर परेको पोखरा भ्रमण वर्ष २०२४ का संयोजक गोपीबहादुर भट्टराई बताउनुहुन्छ। उहाँका अनुसार, “अहिलेको घटनाले अन्तर्राष्ट्रिय स्तरमा नै नकारात्मक सन्देश पुगेको छ। तर नेपालको पर्यटन सुरक्षित रहेको सन्देश प्रवाह गर्न नेपाल पर्यटन बोर्ड र अन्य सरोकारवाला निकायहरूको भूमिका महत्वपूर्ण हुन्छ। छिमेकी मुलुकहरूसम्म कूटनीतिक पहलमार्फत ‘नेपाल सुरक्षित गन्तव्य हो’ भन्ने सन्देश दिनु अत्यावश्यक छ।”
पर्यटन क्षेत्रले प्रत्यक्ष तथा अप्रत्यक्ष गरी हजारौं मानिसलाई रोजगारी दिएको छ। होटल, रेस्टुरेन्ट, पसल, यातायात, ट्रेकिङ एजेन्सी, साहसिक खेलजस्तै प्याराग्लाइडिङ वा बन्जी जम्पिङमा संलग्न श्रमिक अहिले ठूलो चुनौतीमा छन्। आन्दोलनका कारण व्यवसाय ठप्प हुँदा धेरैले रोजगारी गुमाएका छन्। भट्टराई भन्नुहुन्छ, “यस परिस्थितिले देखाउँछ कि नेपालको पर्यटन नीतिमा आकस्मिक संकटको सामना गर्न दीर्घकालीन योजना र ‘ब्याकअप’ रणनीति आवश्यक छ। यस्तो अवस्था आउँदा पर्यटनलाई कसरी निरन्तर चलायमान राख्ने भन्ने स्पष्ट कार्ययोजना हुनुपर्छ।”
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेका अनुसार, हालैको आन्दोलनका क्रममा पोखराका नाम चलेका ठूला होटलहरू लक्षित आगजनी र तोडफोडले ठूलो क्षति पुर्याएको छ र यसले नकारात्मक सन्देश पठाएको छ। उहाँले बताएअनुसार, भारतीय भलिबल खेलाडीले पोखरामा आफु बसेको होटलमा आगजनी भएको र असुरक्षित महसुस गरेको कुरा सोसल मिडियामार्फत सार्वजनिक गरेपछि भारतको दूतावासले नेपालमा जारी परिस्थितिका कारण भारतीय नागरिकलाई सतर्क रहन यात्रा सचेतना जारी गरेको हो।
सेप्टेम्बर १९ मा जारी ट्राभल एडभाइजरीमा दूतावासले सडक यातायात र उडानहरू सामान्य रूपमा सञ्चालन भइरहे पनि भारतीय नागरिकलाई अनावश्यक यात्रा नगरी आफ्नै बसोबासमै बस्न आग्रह गरेको थियो।
लामिछानेका अनुसार, पोखराले हरेक दिन करिब ८ करोड रुपैयाँ बराबरको क्षति बेहोर्नु परेको छ। धेरै बुकिङ रद्द भएका छन्। पोखरा पर्यटन परिषद्, होटल संघ र टान टोलीले संयुक्त रूपमा अर्थमन्त्री र राष्ट्र बैंकका गर्भनरलाई भेटेर आन्दोलनले पारेको क्षतिको विवरण बुझाएका छन्।
यसैबीच, नेपाल पर्यटन बोर्डले ‘आइ एम इन नेपाल नाउ’ ह्यासट्याग अभियान सुरु गरेको छ। रियल–टाइम स्टोरी उत्पादन गरी सामाजिक सञ्जालमार्फत नेपाल सुरक्षित गन्तव्य भएको सन्देश प्रवाह गर्ने प्रयास भइरहेको छ। उचित समन्वय, प्रचार–प्रसार र सकारात्मक सन्देश प्रवाहले पोखराको पर्यटनलाई पुनः गतिमा फर्काउन मद्दत पुग्ने विश्वास गरिएको छ। सरकारले पनि अहिलेको अवस्थालाई ध्यानमा राख्दै पर्यटन क्षेत्रमा केही राहत प्याकेज ल्याएको छ। अब सबै सरोकारवालाको सहकार्यमा शान्तिपूर्ण वातावरण बनाउन सकियो भने पोखराको पर्यटन छिट्टै पुरानै लयमा फर्कन सक्ने आशा छ।