काठमाडौं। सडक विभागले असोज १८ देखि २० सम्म मनसुन सक्रिय रहने र ठूलो पानी पर्ने सम्भावना देखिएकाले सडक अवरुद्ध हुने सम्भावना रहेको जनाएको छ।
विभागले शनिबार बिहान ८ बजेसम्म मुख्य राजमार्ग बन्द नभएको जनाएको छ। राती बन्द भएका सडक आज बिहान ५ बजेबाट सञ्चालनमा आएको विभागले बताएको छ।
लगातारको वर्षाका कारण देशभरका चार वटा राजमार्ग खण्डमा सवारी आवागमन अवरुद्ध भएको विभागले सूचना निकालेको छ।
अवरुद्ध खण्डमा ताप्लेजुङको फक्ताङलुङ–बेल्ली खोलादेखि रुकुमको तादीगाउँ–डिंग्रे, संखुवासभाको अर्खटेप र सिन्धुलीको १०४ किलोमिटर क्षेत्र रहेको छ। पहिरो पन्छाउने काम भइरहेकाले सडक छिट्टै सञ्चालनमा ल्याइने विभागको भनाइ छ।
मौसम पूर्वानुमान महाशाखाले शनिबार र आइतबार मुलुकको अधिकांश स्थानमा भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ।
सडक विभागले विशेषगरी मुग्लिङ–नारायणगढ सडक, मुग्लिङ–गोरखा सडक, बिपी राजमार्ग, अरनिको राजमार्ग, त्रिभुवन राजपथ, गल्छी–स्याङ्जा सडक अवरुद्ध हुन सक्ने भन्दै यी स्थानमा रातीको समय (बेलुकी ८ देखि बिहान ५ बजेसम्म) यात्रा नगर्न विभागले आग्रह गरेको छ।
सडक विभागका प्रवक्ता प्रभातकुमार झाले प्रभावित क्षेत्रका अवरुद्ध सडक खण्डमा आवश्यक उपकरण परिचालन गरी तत्कालै मर्मत तथा पहिरो हटाउने कार्य अघि बढाइने जानकारी दिएका छन्।
विभागले सडक प्रयोगकर्तालाई आवश्यक सूचना पाउन टोल–फ्री नम्बर ९८५१४१६८९३ वा नजिकको सडक कार्यालय तथा जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्न सुझाएको छ।