काठमाडाै। मुलुकका अधिकांश स्थानमा परिरहेको भारी वर्षासँगै आज बिहानैदेखि उपत्यकाबाट बाहिरिएका सवारीसाधन धमाधम उपत्यकामा नै फर्किन थालेका छन् ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न राजमार्गमा पहिरो जान थालेपछि सुरक्षित रहन सवारीसाधन उपत्यकामा नै फर्किन थालेको जानकारी दिएको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीले बिपी, अरनिको, पृथ्वीलगायतका मुख्य राजमार्गमा पहिरो जान थालेपछि उपत्यकाबाट बाहिरिएका सवारीसाधन पनि फर्किन थालेको जानकारी दिए । 'अहिले पहिरोका कारण उपत्यकाबाट बाहिरिएका सवारीसाधन पनि काठमाडौँतिर नै फिर्ता भइरहेका छन्, यतिबेला उपत्यकाका चारै तिरका नाका बन्द छन्,' उनले भने, 'सुरक्षित तरिकाले सवारीसाधनहरू होल्ड भएका छन्, भौतिक र मानवीय क्षति कम गर्न सडक यात्रा सुरक्षित छैन ।'
सडक विभागले बीपी राजमार्गमा अहिले बिहान १० बजेपछि सवारीसाधनको प्रवेश रोक लगाइएको जानकारी दिएको छ । जल तथा मौसम विज्ञान विभागले असोज २० गतेसम्म नै भारी वर्षा हुने भएकाले विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ ।
भक्तपुर हुँदै पूर्व जाने सवारीसाधन जगातीमा रोकियो
लगातारको वर्षापछि उपत्यकाबाट अरनिको राजमार्ग हुँदै पूर्वका काभ्रे र अन्य जिल्लाहरू जाने सवारीसाधन रोकिएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उपत्यका भित्रिने र बाहिरिने सवारीसाधनमा रोक लगाएसँगै भक्तपुरको जगातीबाट नै पूर्व जाने सवारीसाधन रोकेर फर्काएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक किरण राईले जानकारी दिएका छन्। तर बनेपा र धुलिखेलसम्म जाने सवारीसाधन भने रोकिएको छैन।
यस्तै भक्तपुरको सूर्यविनायक नगरपालिका–७ स्थित किवा चोक गुण्डु नजिकैको सडक खण्डमा वर्षाका कारण पहिरो गएको छ। उक्त पहिरोका कारण गुण्डु–किवा चोक हुँदै नयाँ ठिमी चल्ने यातायात पूर्ण रूपमा बन्द रहेको प्रहरीले जनाएको छ। अन्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
कान्ति लोकपथमा सवारी आवागमन पूर्णरूपमा बन्द
कान्ति लोकपथमा सबै प्रकारका सवारी साधन आवागमन पूर्ण रुपमा बन्द गरिएको छ । शनिबार जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाबाट जारी भएको मौसम पूर्वानुमान अनुसार बागमती प्रदेश लगायतका स्थानमा मनसुनी गतिविधिहरु सक्रिय भई हाल उच्च मात्रामा वर्षा भइरहेको र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सम्भावित विपद्जन्य अवस्थाबाट हुन सक्ने क्षति न्युनिकरण गर्न अर्को सूचना नभएसम्मको लागि बन्द गरिएको जनाएको छ।
पछिल्लो ६ घण्टामा ६४ मिलिमिटर वर्षा
जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो ६ घण्टामा देशभर ६४ मिलिमिटर वर्षा भएको छ। यो अवधिमा मधेश प्रदेशमा सबैभन्दा धेरै वर्षा भएको छ। मधेशको वीरगञ्जमा ६४ मिलिमिटर पानी परेको विभागले जनाएको छ। त्यस्तै, गौरमा ५७, महेशपुरमा ५३, कलैयामा ५४, टाँडीमा ५० र ठोरीमा ४८ मिलिमिटर वर्षा भएको छ।
विभागका अनुसार पछिल्लो ६ घण्टामा मधेश, बागमती र गण्डकीमा धेरै वर्षा भएको छ भने कोशी, लुम्बिनी र सुदूरपश्चिममा भने कममात्रै वर्षा भइरहेको छ।
काठमाडौँ उपत्यकामा भने गोदावरी स्टेशनमा सबैभन्दा धेरै ४१ मिलिमिटर वर्षा मापन भएको छ। त्यस्तै, खुमलटारमा २८, चन्द्रागिरीमा ३५, नगरकोटमा ३०, कपनमा २० र कलंकीमा २३ मिलिमिटर वर्षा भएको छ।
कोशी, मधेश र बागमतीमा अविरल वर्षा, केही घण्टा अझै बढी प्रभावित हुने
कोशी, मधेश र बागमती प्रदेशका अधिकांश स्थानमा मेघगर्जनसहित वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागद्वारा बुलेटिनका अनुसार शनिबार बिहान १० बजे कोशी, मधेश र बागमती प्रदेशमा मेघगर्जनसहित वर्षा भइरहेको हो ।
वर्षाका कारण अबको केही घण्टामा कोशी, मधेश र बागमती प्रदेश बढी प्रभावित हुने विभागले जनाएको छ । विभागले चेतावनी दिँदै अगाडि भनेको छ, ‘अब केही घण्टा विशेषगरी कोशी प्रदेश, मधेशी प्रदेश र बागमती प्रदेश बढी प्रभावित हुने देखिन्छ ।’
वर्षा गराउने प्रणाली पूर्व-उत्तर पूर्व दिशातर्फ सरिरहेको र ती क्षेत्रमा थप वर्षा हुने सम्भावना रहेकाले सतर्कता अपनाउन विभागले सुझाव दिएको छ ।
असोज १८, १९ र २० गते काठमाडौं उपत्यका भित्रिने र बाहिरिने सवारीसाधन सञ्चालनमा रोक
सरकारले तीन दिनका लागि काठमाडौं उपत्यका भित्रिने–बाहिरिने सवारीसाधन आवागमन बन्द गर्ने निर्णय गरेको छ। सरकारले असोज १८, १९ र २० गते सवारी सञ्चालनमा रोक लगाएको हो ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणले सूचना जारी गर्दै भारी वर्षापछि उत्पन्न हुने जोखिमका कारण यातायात बन्द गर्ने निर्णय लिएको हो। प्राधिकरणले अत्यावश्यक काम बाहेकका सवारी सञ्चालन रोक्न सम्बन्धित जिल्ला प्रशासनसँग पनि समन्वय गरिरहेको छ।
दुई दिनका लागि मौरिस हर्गोज पदमार्ग र अन्नपूर्ण आधार शिविर भ्रमणमा रोक
मनसुन बाहिरिने समयमा सक्रिय भएपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको मौरिस हर्गोज पदमार्ग र अन्नपूर्ण आधार शिविरको भ्रमणमा रोक लगाइएको छ । शनिबार र आइतबार पदमार्ग र आधार शिविरमा पर्यटकहरूलाई रोक लगाइएको अन्नपूर्ण गाउँपालिका–४ को कार्यालयले जनाएको छ । वडाध्यक्ष लोकबहादुर पुनले सार्वजनिक सूचना जारी गरेर वर्षा र हिमपातको सम्भावना भएकाले आधार शिविर तथा पदमार्गमा पर्यटकले दुःख पाउने तथा दुर्घटनाको जोखिम देखिएको हुँदा रोक लगाइएको जानकारी दिए।