काठमाडौं। मधेश प्रदेशका अधिकांश स्थानमा भारी वर्षा मापन भएको छ । सबैभन्दा धेरै वर्षा पर्साको वीरगञ्जमा मापन भएको छ । पछिल्लो २४ घण्टामा वीरगञ्जमा ११७ मिलिमिटर वर्षा मापन भएको छ । पर्साकै मुडली, रंगपुर टाँडीबजारमा पनि ठूलो पानी परेको छ ।
यसैगरी बाराको कलैयामा १०५.८, रौतहटको गौरमा १०४.६, रौतहटकै महेशपुरमा १०१.४ र गरुडामा ८९.६ मिलिमिटर वर्षा भएको छ ।
मधेश प्रदेश अन्तर्गत कैलालीको गर्भा दरबार केन्द्रमा ८६ मिलिमिटर वर्षा भएको छ ।बंगालको खाडीमा विकसित प्रणालीको असरले नेपालमा पनि परिरहेको छ । कुनै कुनै ठाउँमा भारीदेखि अति भारी वर्षाको समेत सम्भावना रहेकाले असोज २० गतेसम्म उच्च सतर्कता अपनाउन मौसमविदले सुझाव दिएका छन् ।
जल तथा मौसम विज्ञान विभागका अनुसार अविरल वर्षाका कारण ४० जिल्लामा बाढीको उच्च जोखिम छ । उच्च जोखिममा काठमाडौं उपत्यका समेत परेको छ ।अहिले वर्षाको दर विस्तारै बढ्दै गएको छ र यो क्रम राति अझै बढ्न सक्ने सम्भावना रहेको विभागले जनाएको छ ।
विभागका अनुसार सुनसरी, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रे लगायतका जिल्लामा बाढीको अति उच्च जोखिम छ ।
यसैगरी, काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, चितवन र आसपासका जिल्लाहरुलाई पनि अति उच्च जोसिखमको सूचीमा राखिएको छ । साथै इलाम, झापा, मोरङ, धनकुटा, तेह्रथुम, पाँचथर, भोजपुर, खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, संखुवासभा, ताप्लेजुङ, रसुवा, नुवाकोट, धादिङ पनि बाढीको उच्च जोखिममा छन् ।
यसैगरी गोरखा, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु र आसपासका जिल्लाहरु उच्च जोखिममा छन् । कास्की, लमजुङ, पर्वत, स्याङ्जा, तनहुँ, गुल्मी, पाल्पा, अर्घाखाँची, प्युठान, दाङ, बाँके, बर्दियामा मध्यम जोखिमको सूचीमा राखिएको छ ।