पर्वत। वर्षायामसँगै ग्रामीण सडक अवरुद्ध हुँदा जिल्लाका ग्रामीण क्षेत्रमा सञ्चालित होमस्टे (घरबास)सुनसान बनेका छन् । जिल्लामा पाँच दर्जन बढी होमस्टे सेवा सञ्चालित छन्। वर्षायामका कारण सुनसानजस्तै बनेका होमस्टे जेनजी प्रदर्शनका क्रममा थप प्रभावित बनेका हुन्।
मनसुन सकिन थालेसँगै पर्यटकका पर्खाइमा रहेको भए पनि तत्काल पर्यटक आउने सम्भावना नरहेको भन्दै चिन्तित बनेका छन्। वर्षायाम सुरु भएसँगै गत असारदेखि नै पर्यटक आगमनमा कमी भएपछि यहाँ सञ्चालित होमस्टे सुनसान बनेका हुन्।
यहाँका सातवटै पालिकामा गरी ६२ घरबास सञ्चालनमा छन्। पर्यटन तथा उद्योग कार्यालयका अनुसार कुश्मामा ११, फलेवास नगरपालिकामा पाँच, मोदीमा १९, जलजलामा ६, महाशिला गाउँपालिकामा ९, पैँयुमा तीन र विहादीमा सातवटा होमस्टे सेवा सञ्चालनमा छन्। यी सामुदायिक होमस्टे हुन् भने दुईवटा निजी होमस्टेसमेत सञ्चालनमा छन्।
जिल्लाको कुश्मा नगरपालि–३ दुर्लुङ, वडा–१४ आर्थर, फलेवास–२ थापाठाना, जलजला गाउँपालिकाको बाँखसर्क, लेखफाँट, शालिजा, महाशीला गाउँपालिकाको भोक्सिङ, पाखापानी, बालाकोट, लुंग्रु, बिहादी गाउँपालिकाको गेप्ताङ र बाँच्छा सामुदायिक होमस्टे तथा पैंयु गाउँपालिकाको नेकर्गा र चिन्नेखर्कलगायतका स्थानमा सञ्चालित घरबास वर्षायामका कारण ठप्पजस्तै रहेको सञ्चालकले बताएका छन् ।
गण्डकी प्रदेशकै अग्रणी घरबास सेवा दिँदै आएको मोदी –८ चित्रेस्थित पञ्चकोशी सामुदायिक होमस्टेमा मात्र गत वर्षमा चार हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक भित्रिएका थिए। धेरैको रोजाइमा पर्दै आएको ‘चित्रे ग्रामीण पर्यटन होमस्टे’ मा विभिन्न जिल्लाबाट पाहुना आउने क्रम अब सुरु हुने होमस्टे व्यवस्थापन समिति अध्यक्ष सुशीलादेवी गुरुङले बताए।
प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल पँचासेको काखमा रहेको चित्रेबाट देखिने प्राकृतिक दृश्यका साथै गुरुङ जातिको मौलिक कलाले होमस्टेमा आउनेहरुको मन जित्दै आएको छ। अहिले वर्षायाम भएकाले आन्तरिक तथा बाह्य पर्यटकको संख्या शून्यजस्तै छ। अब विस्तारै हिउँदयाम सुरु भएपछि पर्यटक आउने क्रम सुरु हुने बताए।
चित्रे हुँदै स्याङ्जा, कास्की र पर्वतको सङ्गमस्थल पञ्चासेमा पदयात्रा गर्दै समेत जाने ‘रुट’ समेत रहेका कारण पदयात्रामा जानेदेखि चित्रेको कला र प्राकृतिक सौन्दर्य हेर्न जाने आन्तरिक पर्यटकको संख्या धेरै छ।
होमस्टे पुग्ना साथ गुरुङ पोसाकमा सजिएका महिलाबाट टीका, फूल र मालाबाट गरिने आतिथ्यले सबैलाई फुरुंग बनाउँछ। खानाको रुपमा कोदोको पिठोबाट बनाइएको पुवा, सेल रोटी, गुन्द्रुक र भट्टको तरकारी, स्थानीय जातका गोलभेँडाबाट बनाएको चटनी अनि लेकको चिसोपानीले मथेर बनाएको मोहीले धेरैलाई लोभ्याउँछ।
चित्रेको होमस्टेका आकर्षणमा अर्गानिक र स्थानीय खानाका स्वादसँगै पञ्चेबाजाको ताल र भजनको टुक्का पनि रहेको होमस्टे विकास समिति सल्लाहकार मधुसूदन अधिकारीले बताए। अहिले सडकसमेत अवरुद्ध भएकाले पर्यटक आउन सकेका छैनन्।
यस्तै मोदी–१ भुकताङ्लेमा रहेको लप्सीबोट सामुदायिक र भुक देउराली नमुना सामुदायिक होमस्टे पनि सुनसान छन्। गाउँ जोड्ने पातीचौर–देउपुर–लप्सीवोट सडक एक महिनादेखि अवरुद्ध हुँदा पर्यटक आउन नसकेको वडाध्यक्ष टेकबहादुर गुरुङले जनाए।
बर्खायाममा न्यून पर्यटक आउने भए पनि सडक अवरुद्ध हुँदा झनै ठप्प बनेको उनको भनाइ छ। नियमित वर्षा भइरहँदा जिल्लाका अन्य होमस्टेमा पनि पर्यटक चहलपहल बढ्न नसकिरहेको पर्यटन तथा उद्योग कार्यालय पर्वतले जनाएको छ।
कार्यालयका अनुसार वर्षा रोकिएपछि चाडवाड सुरु हुने र पर्यटनको मौसमसमेत सुरु हुने भएकाले चहलपहल बढ्ने कार्यालय प्रमुख अशोक नेपालीले बताए।–रासस