काठमाडौं। बडादसैंका कारण असोज १३ देखि बन्द नियामक नेपाल राष्ट्र बैंकसहित वाणिज्य बैंक, सेयर बजार, बिमालगायतका वित्तीय संस्था आजदेखि खुल्ने भएका छन्।
बडादसैंको टीका असोज १७ लगत्तै देशैभर ठूलो पानी परेसँगै प्राकृतिक विपद् निम्तिँदा सरकारले असोज १९ र २० गते थप दुई दिन बिदा दिने निर्णय गरे पनि मौसममा सुधार आएको भन्दै कार्यालय खोल्न पत्राचार गरेपछि आजदेखि सरकारीसँगै बैंक तथा वित्तीय संस्थाका कार्यालय खुल्ने भएका हुन्।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आजदेखि कार्यालय खुलाउन कर्मचारीलाई एसएमएस पठाएको छ। सरकारले आजदेखि राजधानी काठमाडौं उपत्यकाकासहित पश्चिम क्षेत्रको बिदा खारेज गर्दै नियमित कार्य सुचारु गर्न निर्देशन दिएको छ।
सोही निर्णयका आधारमा राष्ट्र बैंक र नेपाल बिमा प्राधिकरण, धितोपत्र बोर्डले आफ्ना कर्मचारीलाई आजबाट कार्यालय खुल्ने एसएमएस पठाएर सूचित गरिसकेका हुन्। सरकारी बिदामा बन्द बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीसमेत पूर्ववत रुपमा सुचारु हुनेछन् ।
आजबाट सेयर बजार खुल्ने
असोज १३ देखि बन्द सेयर बजार आजबाट खुल्ने भएको छ। फूलपातीबाट बन्द रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) आजदेखि खुल्ने भएको हो।
सेयर बजार असोज १९ देखि नियमित खुल्नुपर्नेमा देशैभर उत्पन्न विपद् परिस्थितिका कारण गृह मन्त्रालयले २ दिन सार्वजनिक बिदा दिने निर्णय गरेसँगै नेप्से पनि बन्द थियो।
काठमाडौंको बिदा खारेज भएकाले नेप्से आजैदेखि नियमित रूपमा खुल्ने भएको हो। नेप्से कार्यालय खुले पनि कारोबार हुने/नहुनेबारे अझै निर्णय भइसकेको छैन।
यसअघि सेयर बजार जेनजी आन्दोलनका कारण लामो समय बन्द थियो।