काठमाडाैं। गत शुक्रबारदेखि आइतबारसम्मको अविरल वर्षात् र त्यसपछिको बाढीपहिरोले काभ्रेका चार स्थानीय तहको जनजीवन अस्तव्यस्त बनाएको छ। पहिरोका कारण सडक सञ्जाल र विद्युत् सेवा अवरुद्ध भएका छन्, जसले गर्दा केही ग्रामीण क्षेत्रमा सञ्चार सेवा समेत प्रभावित भएको छ।
जिल्लाको खानीखोला, महाभारत, रोशी, र बेथानचोक गाउँपालिका जाने मुख्य सडकहरू पहिरोले अवरुद्ध भएका छन्। यातायात अवरुद्ध हुँदा आवतजावतमा केही दिन कुर्नुपर्ने बाध्यता रहेकाे स्थानीयले बताएका छन्।
बाढीपहिरोले महाभारत पर्वत श्रृङ्खलापारी (डाँडापारी) का दुई गाउँपालिका खानीखोला र महाभारत जाने सडक पूर्णरुपमा बन्द भएका छन्। स्थानीय तहका जनप्रतिनिधिहरूका अनुसार यी सडक खुल्न हप्ता दिनभन्दा बढी लाग्न सक्ने देखिएको छ।
महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले गाउँपालिका सडक, विद्युत् र सञ्चार सम्पर्कबाट विच्छेद भएको जानकारी दिए। उनले महाभारत जाने वैकल्पिक सडक नभएको र मुख्य सडकसहित विभिन्न वडामा जाने सबै सडक क्षतिग्रस्त भएको बताए। ‘यी सबै क्षतिग्रस्त सडक बनाउन हप्ता दिनभन्दा बढी लाग्न सक्छ,’ अध्यक्ष जिम्बाले भने, ‘विद्युत् सेवा पनि अवरुद्ध भएकाले दुवै सेवालाई कसरी सुरु गर्ने भन्ने तत्कालै योजना बनाइरहेका छौँ।’
यस्तै, खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङले पनि सबै सडक अवरुद्ध भएको र सडक खुलाउन केही समय लाग्ने बताए। सडक अवरुद्ध भएकाले इन्धन व्यवस्थापनमा समेत समस्या आएको उहाँको भनाइ छ। अध्यक्ष थिङका अनुसार विद्युत् सेवा सञ्चालन गर्न आवश्यक जनशक्ति खटाइसकिएको छ र एक–दुई दिनमै सेवा सुरु गर्ने प्रयास भइरहेको छ।
सडक खुलाउने प्रयास जारी
रोशी गाउँपालिकाको सडकअन्तर्गत बिपी राजमार्गका विभिन्न स्थानमा अस्थायी डाइभर्सन कटान भएपछि वडा जाने सडकहरू अवरुद्ध छन्। अध्यक्ष दिनेश लामाका अनुसार चौकीडाँडा र घुमाउनेमा सडक बनेपछि मात्र गाउँपालिका केन्द्र सडक सञ्जालसँग जोडिनेछ। रोशीमा आंशिक रुपमा अवरुद्ध विद्युत् सेवालाई तत्काल पूर्णरुपमा नियमित गर्न लागिएको उनले बताए।
बेथानचोक गाउँपालिकामा भने अवरुद्ध सडक खुलाउन आइतबारदेखि नै जनप्रतिनिधिहरू सक्रिय भएका छन्। गाउँपालिका अध्यक्ष भगवान् अधिकारीले अवरुद्ध मुख्य सडकलाई खुलाउन प्राथमिकता दिइएको र वडा जोडिने सडकमा आवश्यक मेसिन प्रयोग भइरहेको जानकारी दिए।
जिल्लामा बाढीपहिरोका कारण अहिलेसम्म दुई जनाको मृत्यु भएको छ भने पूर्वाधारका क्षेत्रसहित निजी भौतिक संरचनामा निकै ठूलो क्षति भएको जनाइएको छ। केही गाउँपालिकाहरूले सोमबारदेखि आवश्यक उपकरणसहित सडक खुलाउने काम सुरु गरिसकेका छन्।