काठमाडौं। गत भदौ २३ र २४ गते देशभर जेनजीको आन्दोलनमा सरकारी कार्यालय पहिलो निसानामा परे। ठूला सरकारी कार्यालयदेखि निजी कम्पनीमा तोडफोडसँगै आगलागी हुँदा महत्त्वपूर्ण कागजात जलेर नष्ट भए।
कागजात जलेसँगै सरकारी निकायले अभिलेख संकलन सुरु गरेको छ। यस क्रममा मालपोत कार्यालय कलंकी र कास्कीले जग्गाधनीलाई आवश्यक कागजात लिएर उपस्थित हुन आग्रह गरेको छ।
यी मालपोत कार्यालयले एक सूचना जारी गर्दै आफ्नो कार्यक्षेत्रभित्रका जग्गाधनीलाई जग्गाको प्रमाण पुग्ने कागजातहरू लिएर उपस्थित हुन आग्रह गरेका हुन्। यसका लागि जग्गाधनी आफै उपस्थित हुनुपर्ने उल्लेख गरिएको छ।
‘अभिलेखहरू जलेर नष्ट भएको हुँदा दैनिक सेवा प्रवाह अवरुद्ध रहेकाले सेवा प्रवाह पुनः सुचारु गर्न नष्ट भएका जग्गाधनी दर्ता श्रेस्ता कायम गर्ने प्रयोजनका लागि जग्गाधनी स्वंयम उपस्थित भई भूमि प्रशासन निर्देशिका, २०८१ को दफा २१ अनुसार तपशिल बमोजिमका कागजातहरु प्रमाणसहित निवेदन पेश गर्नु हुन सूचना प्रकाशित गरिएको छ,’ सूचनामा भनिएको छ।
के-के चाहिन्छ कागजात?
सूचनामा जनाइएअनुसार जग्गाधनीले आफ्नो जग्गाको दाबी गर्नका लागि सक्कल पुर्जा ल्याउने पर्ने छ। यसैगरी जग्गा प्राप्तिको श्रोतमा लिखतबाट प्राप्त भएकोमा सक्कल लिखत, निर्णय मिसिलबाट प्राप्त भएकोमा सोको प्रमाणीत प्रति, प्लट रजिष्ट्रर, फिल्डबुक, नक्सासँगै चालु आर्थिक वर्षको मालपोत बुझाएको रसिद पेश गर्नुपर्ने छ।
यसैगरी, जग्गा रोक्का रहेकोमा रोक्का राख्ने संस्थाको सहमति, आवश्यकताअनुसार स्थलगत सर्जमिन, आवश्यकता अनुसार ३५ दिने सार्वजनिक सूचना, गुठी जग्गाको हकमा गुठी संस्थानको सहमती पत्र ल्याउन भनिएको छ।
यसैगरी कास्की मालपोत कार्यालयले यसबाहेक जग्गा रहेको स्थानीय तहबाट भएको भोगसम्बन्धी किटानी सिफारिस र सम्बन्धित जग्गा धनी एकीन गर्न स्थायी ठेगाना भएको स्थानीय तहको जग्गा धनीको तीन पुस्ते खुलेको फोटो टाँससहितको किटानी सिफारिस बुझाउनु पर्ने जनाएको छ।