काठमाडौं। नेपाल सरकारले उद्योग व्यवसायका क्षेत्रमा विदेशी लगानीको सीमा हटाएसँगै १२० वटा विधामा लगानी गर्ने सकिने भएको छ। मन्त्रिपरिषद् बैठकले विदेशी लगानीका ५० करोड रुपैयाँसम्म स्वीकृतको सीमा हटाएसँगै लगानी गर्ने सकिने भएको हो। सरकारले सीमा हटाएपछि उद्योग व्यवसायका क्षेत्रमा लगानी भित्र्याउने प्रक्रिया सहज भएको छ।
सरकारले विदेशी लगानीलाई थप सहज र डिजिटल बनाउने क्रममा स्वचालित मार्गमार्फत विदेशी लगानीलाई अनलाइन स्वीकृति दिने प्रक्रियालाई सहजीकरण गरेको हो।
सरकारले स्वीकृत लगानीको सीमा हटाएसँगै विभिन्न क्षेत्रमा लगानीको बाटो खुलेको छ। सीमा हटाएपछि ऊर्जा वायु सौर्यका ४ वटा क्षेत्र, कृषि तथा वन पैदावारका ११ वटा क्षेत्र, पर्यटनका ४ वटा क्षेत्र, सूचना प्रविधिका ९ वटा क्षेत्र, सेवामूलकका २३ वटा क्षेत्र र उत्पादनमूलकका ४१ वटा, पूर्वाधारका ८ वटा क्षेत्रसहित कुल १०२ वटा विधामा यो सुविधा दिएको छ।
अब जुनसुकै रकमको विदेशी लगानी पनि तोकिएका क्षेत्रमा स्वचालित मार्गबाट स्वीकृत हुनसक्छ। नयाँ व्यवस्थाले मुख्य सात वटा औद्योगिक क्षेत्रका कुल १०२ वटा व्यावसायिक क्षेत्रमा कुनै पनि सीमा बिना लगानी भित्र्याउने बाटो खोलेको छ।
यसअघि २०८० असोज १५ गते प्रकाशित राजपत्रको सूचनाअनुसार स्वचालित मार्गबाट हुने विदेशी लगानीमा ५० करोड रुपैयाँको अधिकतम सीमा तोकिएको थियो। उक्त पुरानो सूचनालाई अहिलेको नयाँ राजपत्रले खारेज गरिदिएको छ।
लगानीकर्ताले उद्योग विभागको अनलाइन प्रणालीमा आवेदन दिएसँगै वा सात दिनभित्र स्वीकृति प्रमाणपत्र इमेलमार्फत प्राप्त हुन्छ। यसले कम्पनी दर्ता र उद्योग सञ्चालनलाई छिटो बनाउँछ।
विदेशी लगानीकर्ताले अनलाइन फारम भर्नुपर्छ। कम्पनीको देश, लगानी रकम, क्षेत्र आदि विवरणसहित अनलाइनमार्फत आवश्यक कागजात अपलोड गरेपछि सबै मापदण्ड पूरा भएमा प्रणालीले स्वतः स्वीकृति दिनेछ। स्वीकृति पाएपछि नेपाल राष्ट्र बैंकमा विदेशी मुद्रा स्रोत प्रमाणित गर्नुपर्ने हुन्छ।
चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो सात महिनामा कुल ४० अर्ब २८ करोड रुपैयाँको विदेशी लगानी प्रतिवद्धता आएको छ। जसमा स्वचालित मार्गबाट पनि त्यस्तो लगानी आउने क्रम बढ्दो छ। स्वचालित व्यवस्थाले विदेशी लगानीकर्तालाई नेपालमा व्यवसाय सुरु गर्न निकै सहज बनाएको छ।